
भालुवाङ । राप्ती गाउँपालिका क्षेत्रभित्र पर्ने मुख्य सडक (महेन्द्र राजमार्ग)को दायाँ बायाँ रहेका जोखिम युक्त ६१ वडा रुख कटान हुने भएको छ ।
राप्ती गाउँपालिकाको सिफारिस र सडक डिभिजन कार्यालय घोराहीको समन्वयमा डिभिजन बन कार्यालय लमहीले उक्त रुख कटान तथा व्यवस्थापन गर्न लागेको हो ।
सम्भाबित दुर्घटना र मानवीय क्षेती हुन नदिन बन कार्यालयलाई रुख कटान गर्न सिफारिस गरिएको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले जानकारी दिए ।
बुधबार राप्ती गाउँपालिकामा बसेको सर्वपक्षीय बैठकले जोखिम युक्त रुख कटान तथा व्यवस्थापन गर्न डिभिजन वन कार्यालय लमहीलाई सिफारिस गरेको थियो ।
राप्ती गाउँपालिका वडा नम्बर १ कटेसनाल देखि सिसहनिया बजार सम्म रहेका जोखिम युक्त रुख हटाउन लागिएको हो । जसमा सात वटा सालका रुख, बकुल एक वटा, अस्ना एक वटा, मसला दुई वटा, सिसौ २८ वटा, सिमल १० वटा, जेकट १० वटा, निम एक वटा र कुसुम एक गरि ६१ वटा रुख हटाउन लागिएको डिभिजन वन कार्यालय लमहीका प्रमुख राजु क्षेत्रीले बताए ।
राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टको अध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष कमलापति चौधरी , डिभिजन वन कार्यालय लमहीका प्रमुख राजु क्षेत्री , सडक डिभिजन कार्यालय घोराहीका इन्जिनियर शम्भु विक, वडा अध्यक्षहरु पहलमान चौधरी, उमेस अधिकारी, वीर बहादुर चौधरी, सञ्चारकर्मी महेश रिजाल, नापी कार्यालय , मालपोत कार्यालय , इलाका प्रहरी कार्यालय भालुबाङका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।