काठमाडौँ । आईसीसी विश्वकप लिग – २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) माथि नेपालले सहज जित निकालेको छ ।
सोमबार भएको खेलमा नेपालले पीएनजीलाई ९ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको ९६ रनको लक्ष्य पछ्याएको नेपालले ७ ओभर ४ बलमा एक विकेट गुमाउँदै १०० रन बनायो ।
नेपालका लागि आसिफ शेखले अर्धशतकीय पारी खेले । २१ बल खेलेका उनले ८ चौका र ३ छक्काको सहयोगमा ५३ रन बनाए। नेपालका लागि कुशल भुर्तेलले १४ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन बनाए । त्यस्तै कुशल मल्लले १२ रन बनाए। पीएनजीका लागि काड सोपरले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ९५ रन बनाएको थियो। पीएनजीका लागि असा भालाले सर्वाधिक २० रन बनायो । त्यस्तै सेसे बाउले १८ रन बनाउँदा कार्लेस आमिनी १६, हिरी हिरीले १४ रन बनाउन बाहेक अन्य ब्याट्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक पाँच विकेट लिए ।
१० ओभर बलिङ गरेका सन्दीपले १ मेडेन ओभरसँगै २५ रन खर्चे । नेपालका लागि ललित राजवंसी र कुशल मल्लले दुई-दुई विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए । आजको खेलमा जित निकाल्दै नेपालले लिग – २ मा ३५ खेलबाट ३८ अंक जोडेको छ । पराजित पीएनजीले ३५ खेलबाट ११ अंक जोडेको छ । नेपालले अब एक खेलमा जित निकाल्न सकेमा सोझै विश्वकप छनोट खेल खेल्न पाउनेछ ।