देउखुरी । दाङको लमही नगरपालिका ८, सतबरियाबाट राजपुर गाउँपालिका जोड्ने पुल निर्माण भएको लामो समयसम्म पनि प्रयोगमा आउन सकेको छैन । जग्गा विवादका कारण निर्माण सम्पन्न भएको पुल प्रयोगमा नआएको हो ।
पुल निर्माण कार्य सकिए पनि पुल र सडक जोडिन सकेको छैन । पुलको भाग सकिएपछि व्यक्तिगत जग्गा पर्छ । जसका कारण पुल बने पनि सडक नबन्दा स्थानीयवासीले सुविधा उपभोग गर्न पाएका छैनन् । लमही ८ का असानी चौधरीले राप्ती नदीमा ५०२ मिटर लामो पक्की पुल दुई वर्षअघि बने पनि पुलसँग जोडिएको सडकको जग्गा विवाद सुल्झिन नसक्दा पुल प्रयोगमा नआएको बताउनुभयो ।
जग्गा विवाद समाधान नहुँदा सरकारले ६८ करोड रुपियाँ लागतमा बनाएको पक्की पुल प्रयोगविहीन बनेको उहाँले जानकारी दिनुभयो । निर्माण कम्पनी अनक रायमाझी जेभीका प्रतिनिधि लक्ष्मण ढकालले पुल निर्माण दुई वर्ष पहिले सकेको बताउँदै विवादित क्षेत्रलाई छोडेर सहमति भएको क्षेत्रमा सडक निर्माण गरिएको बताउनुभयो ।
आर्थिक वर्ष २०७५/७६ बाट यहाँ पुल बनाउन थालिएको थियो । आर्थिक वर्ष २०७७/७८ मै पुल निर्माण सम्पन्न भयो । नदीको दक्षिण किनारबाट सडक गढवा–कालाकाटेमा जोडिने गर्छ तर दक्षिण किनारबाट सडकमा पुग्न ४५ मिटरको जग्गामा विवाद देखिएको छ ।
उक्त जग्गा राजपुर गाउँपालिका ३, भैँसहवा निवासी रामबहादुर यादवको पर्छ । पुल निर्माण हुने बेलामा नापजाँच (सर्भे) गलत तरिकाबाट भएकाले सडक निर्माणका लागि आफ्नो जग्गा दिन आफूले अस्वीकार गरेको उहाँले बताउनुभयो । यहाँको जग्गा विवाद सुल्झाउन स्थानीय सरकारले पहल लिए पनि समाधान भने हुन सकेको छैन ।