
देउखुरी । दाङको राप्ती गाउँपालिकामा भूमिहीन सुकुमबासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरुलाई साेमबार देखि पुन: जग्गाको निस्सा वितरणकाे कार्य शुरु गरिएको छ ।
दाेस्राे चरणकाे पहिलाे दिन वडा नम्बर ९ काे वडा कार्यालयल रुपाकाेटबाट निस्सा वितरण कार्यकाे शुरुवात गरिएको हाे ।
वडा नम्बर ९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगरको अध्यक्षता तथा पालिकाकी उपाध्यक्ष कमलापति चाैधरीकाे प्रमुख आतिथ्यतामा जग्गा नाप नक्सांकनका लागि जग्गाको निस्सा वितरण गरिएको थियो ।
निस्सा वितरण गर्दै पालिकाकी उपाध्यक्ष कमलापति चाैधरीले ऐलानी, पर्ती जग्गा कैयौं वर्षदेखि उपभोग गर्दै आए पनि लालपूर्जाबिहीन स्थानीयवासीहरु जग्गाको मालिक बन्ने पहिलो प्रक्रिया सुरु भएको बताउनु भयाे ।
उहाँले जग्गा जोत, उपभोग गरिरहेका प्रमाण गाउँपालिकाले दिएको बताउनु भयो । ‘यो जग्गाको लालपूर्जा होइन’, निस्सा वितरण गर्दै उहाँले भन्नु भयो । ‘तपाईहरुले कति ऐलानी, पर्ती जग्गा उपभोग गरिरहनु भएको छ, त्यसको प्रमाण तपाईहरुलाई दिएका हौं ।’ जग्गाको नाप, नक्सा अब यहि निस्साको आधारमा छिट्टै हुने उपाध्यक्ष चौधरीको भनाई थियो ।
वडाध्यक्ष सुनारी मगरका अनुसार सो वडामा २ सय ४२ घरधुरी अव्यवस्थित बसोबासी र ८ घरधुरी भूमिहीन दलितले फाराम भरेका छन् ।
साेमबार निस्सा नपाएका वडाबासीलाई वडा कार्यालयमा सम्पर्क गर्न वडाध्यक्ष सुनारी ले आग्रह समेत गर्नु भएको छ ।
यस्तै क्रममा मंगलबार वडा नम्बर ५, बुधबार वडा नम्बर ६, बिहीबार वडा नम्बर ७ र शुक्रबार वडा नम्बर ८ मा साे निस्सा वितरण कार्यक्रम हुने राप्ती गाउँ पालिकाकाे भूमि सेवा केन्द्रका प्रमुख बाल चन्द्र गुरुङले जानकारी दिनु भएको छ ।
यसअगावै पहिलो चरणमा वडा नम्बर एक देखि चार सम्म निस्सा वितरणको कार्य सम्पन्न भई सकेको समेत प्रमुख गुरुङले जानकारी बताउनुभयो ।