देउखुरी । दाङको राप्ती गाउँपालिकाले अग्नी पीडित एक घरपरिवारलाई राहत प्रदान गरेको छ ।
आज शनिबार दिउँसो भएको आगलागीबाट विस्थापित भएका राप्ती गाउँपालिका वडा नम्बर ४ बुढीचाैरका प्रेम बहादुर ओलीकाे घरपरिवारलाई नेपाल रेडक्रस साेसाईटी उपशाखा लालमटियाकाे समन्वयमा नगद, खाद्यान्न सहित अन्य राहतका सामग्री प्रदान गरेको हो ।
आगलागीबाट विस्थापित परिवारलाई नगद १० हजार रुपैया सहित चामल, नुन, तेल, दाल, भाडाकुडा, बल्याङकेट र त्रिपाल प्रदान गरेको जनाएको छ । राहत सामग्री गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चाैधरी, प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, नेपाल रेडक्रस साेसाईटी उपशाखा लालमटियाका सभापति किरण भण्डारी र सचिव हरि प्रसाद भुसाल तत्कालै पीडितकाे घरैमा पुगेर प्रदान गर्नु भएको हाे ।
दिउँसो करिब साढे बाह्र बजे विद्युत सर्ट भई लागेको आगोले ओलीको अन्दाजी ५ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी चाैकी मसुरीयाका सई निम बहादुर खत्रीले जानकारी दिनु भएको छ ।
राहत प्रदान पछि गाउँपालिकाका अध्यक्ष विष्टले गर्मीयामकाे समय शुरुआत भए सँगै आगलागीका घटनाहरु दिन प्रति दिन बढ्न सक्ने भएकाले त्यस्ता घटना राेक्नका लागि सबैले विशेष ध्यान दिनु पर्ने बताउनु भयो । त्यस्तै उहाँले पिडीत घरपरिवारलाई थप सहयोगका लागि आफुले पहल गर्ने समेत बताउनु भएको छ ।