काठमाडौं । चितवन २, तनहुँ १ र बारा २ मा प्रतिनिधि सभा सदस्य चयनका लागि अहिले मतदान जारी रहेको छ । मतदान बिहान ७ बजे शुरु भएको हो । मतदान साँझ ५ बजेसम्म चल्नेछ । मौसमलाई ध्यान दिएर तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ ।
चितवन – २ मा ४३ मतदानस्थलमा १ सय ३८ मतदान केन्द्र छन् । चितवन – २ मा १ लाख २४ हजार ६ सय ९५ मतदाता छन् । यहाँ राजनीतिक दलका १२ र स्वतन्त्र १० उम्मेदवार छन् ।
तनहुँ – १ मा ६९ मतदानस्थलमा १ सय ५२ मतदान केन्द्र छन् । तनहुँ – १ मा १ लाख २३ हजार ३ सय ५ मतदाता छन् । तनहुँमा राजनीतिक दलका ९ उम्मेदवार छन् ।
बारा – २ मा ८२ मतदानस्थलमा १ सय ३६ मतदान केन्द्र छन् । बारा – २ मा १ लाख ५ हजार ११ मतदाता रहेका छन् । दलका ११ र स्वतन्त्र २३ जना गरी ३४ उम्मेदवार छन् ।
मतगणना कहाँ ?
चितवन – २ को मतगणना भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा गर्ने तयारी छ । त्यहाँ तारजालीको छेकबार र सीसीटीभी क्यामरा व्यवस्था गरिएको छ ।
तनहुँ – १ को मतगणना जिल्ला समन्वय समितिको कोठामा हुनेछ । त्यहाँ पनि तारजाली र सीसी क्यामरा जडान गरिएको छ ।
बारा – २ को मतगणना कलैयास्थित शैक्षिक तालिम केन्द्रमा हुनेछ । त्यहाँ पनि तारजालीसहितको व्यवस्था मिलाइएको छ ।
मतगणना थालिएको तीन दिनभित्रै मतपरिणाम आइसक्ने निर्वाचन आयोगले जनाएको छ ।