दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेसका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् ।
बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशसभा सदस्य चौधरीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशका मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता ऋषिराम पन्थीले जानकारी दिए ।
प्रदेश प्रमुख शेरचनले सरकार गठनका लागि दावी पेशको बिहिवार ४ बजेसम्म समयसीमा तोकी आह्वान गरेका थिए । सोही बमोजिम तोकिएको समयभित्र अन्य कुनै सदस्यको दावी नआएको र यसअघि तोकिएको समय सीमामा प्रदेश प्रमुख समक्ष नेपाली कांग्रेस, लुम्बिनी प्रदेश संसदीय दलका नेता चौधरीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने ८ राजनीतिक दल र स्वतन्त्र प्रदेशसभा सदस्य समेत गरी जम्मा ५३ जना प्रदेशसभाका सदस्यहरूको समर्थनमा हस्ताक्षरसहित दाबी पेश गरेका थिए । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गरेका थिए ।