भालुबाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरी अहिले सम्मका सरकारले गरेका कामभन्दा आफ्नो नेतृत्वको सरकारले भिन्न किसिमले काम गर्ने समेत बताए ।
शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले अहिले प्रदेशको औचित्य सावित गर्ने गरी भिन्नै किसिमले काम गर्ने दाबी गरे । यस्तै सरकारले कहिले पूर्णता पाउँछ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले सरकारले पूर्णता पाउने विषयमा अलिकति काम गरेपछि मात्र थाहा हुने बताए ।
उनले भने, ‘अहिले भर्खरै पदभार गरेका छौं । अलिकति काम गर्न दिनुहोस् । त्यसपछि मात्र तपाईंहरूले कुरा गर्नुहोला ।’
यसैगरी उनले प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ ग्रहण गरेका थिए भने प्रदेशको राजधानी भालुबाङमा आएर पदभार गरेका हुन् ।
यसैगरी नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेशका संसदीय दलका नेता जोखबहादुर महराले एक हप्ताभित्र सरकारले पूर्णता पाउने बताए । उनले मन्त्रालयहरू बढाउने नभई अहिले भएका मन्त्रालय अनुसार नै अगाडि बढ्ने भन्दै शुक्रबार तीन जनाले विनाविभागीय मन्त्रीका रूपमा शपथ लिएको समेत बताए ।
उनले भने, ‘एक हप्ताभित्र हामी सबै पूर्णता दिन सक्छौं। अबको दुई तीन दिनभित्र विश्वासको मत लिने सरकारलाई पूर्णता दिनेछौं ।’
निति तथा कार्यक्रम र बजेटको समय आएको हुँदा त्यसका लागि तयारी गर्नुपर्ने अवस्था आएको भन्दै उनले सबै काम एक हप्तामा पूरा गरेर अगाडि बढ्ने समेत बताए ।