
देउखुरी । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीको रोक्का जग्गा फुकुवाको माग गर्दै आन्दोलन हुने भएको छ ।
जग्गा फुकुवाको बिषयलाई जोडेर जनस्तरबाट संघर्ष समिति समेत निर्माण गरिएको छ । उद्योगी व्यवसायी, किसान, मजदुर, निर्माण व्यवसायी तथा जग्गा रोक्काबाट प्रभावित नागरिकहरु संगठित भएर संघर्ष समिति निर्माण गरेका छन् । अगुवा किसान शंकर गौतम संयोजक रहेको जग्गा फुकुवा तथा राजधानी व्यवस्थापन संघर्ष समिति गठन गरिएको छ ।
संघर्ष समितिले मंगलबार विहान ८ बजेदेखी प्रदेश राजधानी परिसर क्षेत्रमा धर्ना सुरु गर्ने, रिले अनशन बस्ने सम्मका कार्यक्रम तय गरिएको संघर्ष समितिका संयोजक शंकर गौतमले जानकारी दिनुभयो । सोमवार बसेको भेलाले गौतमको संयोजकत्वमा संघर्ष समिति गठन गरेको हो ।
जसको सह–संयोजकमा शान्तराज भण्डारी, आर्थिक संयोजकमा भरत पाण्डे, जनसम्पर्क संयोजकमा मिठ्ठु चौधरी, व्यवस्थापन संयोजकमा गुञ्जबहादुर बिष्ट, स्वयमसेवक संयोजकमा द्रोर्णबहादुर जिसी अन्य सदस्यमा रहनु भएको छ । लुम्बिनी प्रदेश राजधानी घोषणा हुनु अघि जग्गा रोक्का भएको थियो । जग्गा रोक्का भएको दुई बर्ष ७ महिना हुदा पनि फुकुवा नभएको भन्दै विरोध सुरु भएको छ ।