
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् ।
मंगलबार प्रदेश सभाको पहिलो अधिवेशनको १०औँ बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिएका हुन् । ८७ सांसदमध्ये उनको पक्षमा ५३ मत परेको छ भने विपक्षमा २९ मत परेको छ ।
उनलाई कांग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जसपा, लोसपा र जनमत पार्टीका तीन–तीन, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद तथा एकजना स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन्। त्यस्तै, विपक्षमा एमालेका २९ सांसदले मत दिए भने राप्रपाका चार सांसदले भने कतै मत दिएनन् ।
उनले विश्वासको मत पाएसँगै मन्त्रिपरिषद् विस्तार तथा बाँडफाँट हुनेछ। हाल लुम्बिनीमा माओवादी केन्द्रका धनबहादुर मास्की, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी र लोसपाका सन्तोष पाण्डे मन्त्री छन् ।
तर, उनीहरूको मन्त्रालय भने अझै टुंगिएको छैन । त्यसबाहेक अन्य साना चारवटा दलले पनि मन्त्रालय मागेका छन् भने एकजना स्वतन्त्र सांसदको पनि मन्त्रालयमै दाबी छ। यसो भएमा हाल भएका मन्त्रालय टुक्य्राउनुपर्ने हुन्छ। हाल १० वटा मन्त्रालय छन् ।
एमालेका लीला गिरी मुख्यमन्त्री हुँदा १३ वटा मन्त्रालयबाट १० वटा मन्त्रालयमा झारिएको थियो ।