काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालकको उपचारको क्रममा मृत्यु भएको छ ।
वैशाख १० गतेको उपनिर्वाचनका लागि चुनावी प्रचारमा खटिएका बेला लामिछानेका चालक दिलबहादुर थापा (शम्भु) चितवनमा घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए ।
थापालाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । थापाको उपचारका क्रममा मंगलबार दिउँसो १:३५ बजे मृत्यु भएको मेडिसिटी अस्पताल स्रोतले जानकारी दिएको छ ।
थापाको शव परिवारका सदस्यहरुले बुझिसकेका अस्पताल स्रोतले जानकारी दिएको छ ।
लामिछानेको चितवनस्थित (भाडाको) निवासमा सुतेका थापा वैशाख ४ गते बिहान ४ बजे छतबाट खसेका थिए । थापासँगै रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक समेत सुतेका थिए । तर, ढकालका चालकले भने थापा छतबाट खसेकोबारे आफूलाई थाहा नभएको भनेर प्रहरीलाई बयान दिएका थिए ।
प्रहरीले थापाको दुर्घटनाका सन्दर्भमा छानबिन जारी रहेको जनाएको छ । अनुसन्धानमा भएको प्रगतिबारे प्रहरीले हालसम्म कुनै विवरण सार्वजनिक गरेको छैन ।