देउखुरी । लामो समयको प्रयासपछि निलसागर सेवा आश्रम दाङ शाखाको आफ्नै भवन निर्माण गर्न थालेको छ ।
यस अघि जग्गा तथा बजेट अभावमा भवन निर्माण गर्न नसकेको आश्रमले राप्ती गाउँपालिका ८ मिलनडाँडामा भवन निर्माण गर्न थालेको हाे ।
आश्रमको नयाँ बन्न लागेको भवनको बुधबार राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले शिलान्यास गर्नु भएको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै पालिकाका अध्यक्ष विष्टले सुसंस्कृत समाज निर्माणमा निलसागर सेवा आश्रमको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।
त्यस्तै उहाँले सरकारले नीति तथा कार्यक्रम मार्फत नै सामाजिक सुरक्षाको सुनिश्चितता गरेको भन्दै सामाजिक सेवा सबैको अभियान भएकाले यस्ता गतिविधिलाई तीनै तहकाे सरकारले सहयोग गर्नु पर्ने धारण राख्नु भयो ।
केन्द्रीय कार्यलय नेपालगन्ज बाँके रहेको आश्रमको दाङ शाखाले घरबार बिहीन, खुल्ला आकाश मुनी सडक पेटीमा बस्न बाध्य आमाबुबाको उद्धार गरी पालनपोषण देखि पारिवारीक पुनर्मिलन समेत गराउदै अएकाे छ ।
२०७६ सालमा स्थापना भएको आश्रम शाखा हाल वडा नम्बर ८ पिपरी निवासी समाजसेवी इन्द्रबहादुर कार्कीले निशुल्क रुपमा उपलब्ध गराउनु भएको घरबाट सञ्चालनमा रहेको छ ।
अहिले आश्रमको दाङ शाखामा ३० सहयोगापेक्षी आश्रित छन् ।
आश्रममा एक तले पक्की भवन सहित अन्य गतिविधि सञ्चालनका आवश्यक संरचना निर्माण गरिनेछ ।
आश्रमलाई आर्थिक वर्ष २०७८/०७९ मा संघ सरकार र प्रदेश सरकारले क्रमश ७५ र १० लाख रुपैयाँ गरि कुल ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
असार २५ गते भित्र काम सक्ने गरि न्यू अम्बे निर्माण सेवा दाङले भवन निर्माणको जिम्मा लिई काम भई रहेको निर्माण व्यावसायि उमाकान्त घिमिरेले जानकारी दिनु भयो ।
भवन शिलान्यास कार्यक्रममा पालिकाकी उपाध्यक्ष कमलापती चाैधरी, प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, वडा नम्बर ५ का वडा अध्यक्ष देव प्रसाद चाैधरी, ८ का वडा अध्यक्ष चन्द्र बहादुर गुरुङ, समाजसेवी बुद्धिजीवी लगायत स्थानीय बासिन्दाहरुकाे सहभागी रहेकाे थियो ।