प्रहरीले ललितपुरबाट एउटा आइटी कम्पनीका सिइओलाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीका ५० वर्षीय प्रशन्न पोखरेललाई पक्राउ गरेको साइबर ब्युरो कार्यालयले जानकारी दिएको छ। पोखरेल जिनिस सोलुसन कम्पनीका सञ्चालक हुन् ।
प्रहरीले पोखरेललाई बुधबार झम्सिखेलबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार पोखरेलले कम्प्युटर सामग्रीमा अनधिकृत पहुँच पुर्याएर डाटा नष्ट गरी हानी नोक्सानी पुर्याउने गर्थे ।
जिनिस कम्पनीले सुन्दर ग्रुप अफ कम्पनी प्रालिलाई वेब पोर्टल र डेटालाई होस्टिङ सर्भिस लगायतको सुविधा प्रदान गर्दै आएको थियो । त्यसै क्रममा जिनिसले अनधिकृत रूपमा होस्टिङ अकाउन्टमा प्रवेश गरी डेटाहरू नष्ट गरेको हो। त्यसपछि सुन्दर ग्रुपले साइबर ब्युरोमा जाहेरी दिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा पोखरेलको भूमिका शंकास्पद देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि जिल्ला अदालत काठमाडौंबाट तीन दिन म्याद थपेर अनुसन्धान भइरहेको जनाइएको छ ।