दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सवारी दुर्घटना न्यूनीकरण गर्न सवारीका चालक र सहचालकलाई यात्रुहरुलाई ट्राफिक शिक्षा दिएको छ ।
दाङको लमही बजारमा राजमार्गमा गढवा बजारमा गढवा गाउँपालिकाको नगर प्रहरी समेतको उपस्थितिमा सवारी चालकहरूलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लले प्रशिक्षण दिएका हुन् । जिल्लामा राजमार्ग लामो हुनु र भित्री सडकमा समेत सवारी चाप अत्यधिक भएकाले चालक र सहचालकलाई प्रशिक्षित गर्नु परेको दाङ ट्राफिक प्रहरीले जनाएको छ ।
दाङमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको तथ्याङ्क अनुसार ट्राफिक प्रहरीले त्यसको न्यूनीकरण गर्नका लागि यो अभियान थालेको हो ।
दाङ जिल्लाको राजमार्गमा गुडिरहेको गाडीमा एक मिनेट चालक र एक मिनेट यात्रुसँग भन्ने अभियान चलाएको ट्राफिक प्रहरीले अहिले जिल्लामा रहेका सरोकारवाला निकायको सहयोगमा चालकलाई प्रशिक्षित गरेको हो ।
कम्तीमा ३ दर्जन सवारी साधनको चालकहरुलाई दाङ जिल्ला ट्राफिक प्रहरीले सचेतना अभियान बारे जानकारी गराएको अस्थायी ट्राफिक प्रहरी पोस्ट लमहीका ट्राफिक प्रमुख लक्ष्मण अयेरले जानकारी दिएका छ्न ।