
लुम्बिनी प्रदेशको मुख्य प्रशासनिक क्षेत्र राप्ती गाउँपालिका तोकिएको छ । उक्त क्षेत्र सफा र सुन्दर हुनु पर्ने मुख्य चुनौति पालिकाको रहको छ । एक सार्वजनिक कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले राप्ती गाउँपालिकाको मुख्य प्रवेश द्वार फ़ोहोर भएकाले फोहोर व्यवस्थापन गर्न राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टलाई ध्यानाकर्षण गराएको थिए ।
अहिले राप्तीको फोहोर व्यवस्थापनको काम तीब्र गतिमा अगाडि बढेको छ । फ़ोहोर व्यवस्थापन गर्न राप्ती गाउँपालिकाले जग्गा छनोट गरि जग्गाधनी संग ५ वर्षीय सम्झौता पनि गरिसकेको छ । सरसफाइ केन्द्र निर्माण गरि राप्तीमा उत्पादन हुने फ़ोहोरलाई व्यवस्थापन गर्ने गरी अगाडि बढेको अध्यक्ष प्रकाश बिष्टले जानकारी दिएका छन । सरसफाइ केन्द्र निर्माण गर्न जग्गाको सम्झौता भैसकेको छ अब हामी संरचना बनाएर दशै अगाडिनै फ़ोहोर व्यवस्थापन गर्छौ अध्यक्ष बिष्टले भने ।
गाउँपालिकाको सरसफाइ अभियानलाई सहयोग गर्न भालुबाङमा रहेको आशाका किरण संस्था यो अभियानमा जोडिएको छ । उक्त संस्थाले एक हप्ते कार्यक्रम बनाइ सरसफाइ सम्बन्धि सचेतना कार्यक्रम गरि रहेको छ । ‘सके सफा गरौं नसके फोहोर नगरौं, सार्वजनिक यातायातको साधानमा डस्वीन राखौं बाहिर फोहोर नफालौं र आफ्नो पसल अगाडी जथाभावी फोहोर नफालौ, डस्वीनमा मात्र फोहोर फालौं भन्दै” संदेशमुलक माइकिङ समेत गरिरहेके छ । भालुबाङलाई केन्द्रबिन्दु बनाएर आफ्नो व्यावसाय गरिरहेका सवारी साधनमा अनिवार्य फ़ोहोर राख्ने भाडो (डस्बिन) राख्नु पर्ने र तोकिएको क्षेत्रभन्दा बाहिर फ़ोहोर फाल्न नपाउने निर्णय गरि अनुगमन गरिरहेको आशाका किरण संस्थाका अध्यक्ष अशोक बेल्वासेले जानकारी दिए । आशाका किरण संस्थाको यो अभियानलाई राप्ती गाउँपालिकाले पनि सहयोग गरि रहेको छ ।
शनिवबारबाट ‘मेरो पालिकाको लागि २ घण्टा स्वयंसेवा‘ भन्ने नाराका साथ सरसफाई अभियानको सुरुवात गरिएको छ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक क्षेत्रबाट यो अभियानको सुरुवात गरिएको हो । राप्तीको मुख्य प्रवेश द्वार निकै फ़ोहोर रहेको गुनासो आइ रहेको बेला राप्ती गाउँपालिकाको आयोजनामा सरसफाइ अभियान सुरु गरिएको छ ।
राप्ती गाउँपालिका अध्यक्ष बिष्टको नेतृत्वमा उपाध्यक्ष कमलापति चौधरी, वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्का, वडा नम्बर २ का वडा अध्यक्ष तथा प्रवक्ता पहलमान चौधरी, पालिकाका जनप्रतिनिधी तथा कर्मचारी, पुर्व जनप्रतिनिधी, आशाका किरण संस्थाका पदाधिकारी, ससत्र प्रहरी बल २९ नम्बर हेडक्वाटर ज्वालामाईगण भालुवाङका प्रहरी नायव उपनिरिक्षक कर्णबहादुर बुढाको नेतृत्वमा ससत्र प्रहरी, इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक सुजनविक्रम शाहको नेतृत्वमा नेपाल प्रहरी, विभिन्न संघ संस्थाका प्रमुख, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, राप्ती उद्योग वाणिज्य संघ, भालुवाङ होटल व्यवसायी समिति, राप्ती मोवाइल तथा इलेक्टोनिक्स व्यवसायी संघ, विद्यार्थी, खेलाडी, सञ्चारकर्मी तथा समाजिक अभियान्ताहरुको सहभागिता रहेको थियो ।
सचेतना मुलक अभियानको सुरुवात गर्दै अध्यक्ष बिष्टले आफ्नो घर भित्र रहेको फ़ोहोर व्यवस्थापन गरी सभ्य नागरिकको परिचय दिन र पालिकाको अभियानलाई सहयोग गर्न आग्रह गरेका थिए । ‘हाम्रो यो सचेतना अभियान हो अबदेखि कसैले अटेर गरेर पालिकाको अभियानलाई असहयोग गरे कानुन अनुसार कार्वाही गर्ने छौ” अध्यक्ष बिष्टले भने । यस्तै उपाध्यक्ष कमलापति चौधरीले फ़ोहोरले मानिसको स्वास्थ्यमा नकारात्मक असर गर्ने भन्दै आफ्नो अगाडि फ़ोहोर नगर्न अनुरोध गरेको थिइन ।
बिहान करिब ७ः३० देखि सुरु भएको सरसफाइ अभियानमा करिब २०० जनाको उपस्तिथि रहेको थियो । करिब ३ घण्टा उक्त बजार क्षेत्रमा सचेतना संगै सरसफाइ पनि गरिएको थियो । अब देखि राप्ती गाउँपालिकामा मेरो पालिकाको लागि हप्तामा २ घण्टा स्वयंसेवा भन्ने नाराका साथ हरेक शनिबार सरसफाइ तथा बिकास निर्माणका काम गरिने भएको छ ।