देउखुरी ४ असार । दाङ्गको राप्ती गाउँपालिकाको विभिन्न नौ स्थानमा पाँच दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
गाउँपालिकाले पशु सेवा केन्द्रहरूबाट टाढा रहेका पहाडी बस्ती तथा पशुपालनको बाहुल्यता भएको क्षेत्रलाई लक्षित गरि सो शिविर संचालन गरिएको हो ।

पालिकाको वडा नम्बर एकको मछीताल, पिपलटारी, खर्क, दुईको बाउन्नेपाटा, पाँचको करङ्गेकोट, थकरीकोट, भुल्के र वडा नम्बर नौ को मसुरीडाँडा, रुपाकोट गरि नौ स्थानमा शिविर सम्पन्न भएको हो ।
शिविरमा पशुहरुमा देखिने विभिन्न किसिमका आन्तरिक तथा बाह्य रोगहरु नियन्त्रण र रोकथाम सम्बन्धी खोप, औषधि वितरण, भाले पशुहरुको बन्ध्याकरण गरिनुका साथै ब्यवस्थित पशुपालन सम्बन्धि परामर्श समेत दिईएको पशु सेवा शाखाका शाखा प्रमुख जीवराज पौडेलले जानकारी दिनु भयो ।

गत जेष्ठ ३० देखि असार ३ गते सम्म सञ्चालित उक्त शिविरमा कुल तीन सय ६७ कृषक परिवारका नौ सय ७४ गाईभैसी, चार हजार सात सय ७ भेडा बाख्रा, एक सय ७ बंगुर,चार हजार ४९ कुखुराको उपचारका गरिनुका साथै ४४ वटा कुकुरमा रेबिज खोप, एक सय ८ बोका तथा ४ वटा बहरको बन्ध्याकरण गरिएको शाखा प्रमुख पौडेलले जानकारी दिनु भयो ।
शिवरमा पशुसेवा शाखा तथा पशु उपचार केन्द्रका प्राबिधकहरूले सेवा प्रदान गर्नु भएको थियो । पशुस्वास्थ्य सेवाको पहुँचबाट टाढा तथा विकट बस्तीमा रहेका कृषकहरूलाई घुम्ती शिविरको आयोजना गरेर पशुस्वास्थ्य सेवा उपलब्ध गराईएको र स्वस्थकर पशुजन्य पदार्थ उत्पादन तथा कृषकहरूको आम्दानीमा बृद्दि ल्याउन समेत यसले ठुलो टेवा पुग्ने गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले बताउनु भयो ।












