काठमाडौं । २०६६ मा काठमाडौं महानगरपालिकाले एक सार्वजिनक सूचना निकालेर टुकुचा (इक्षुमती) खोलामा भएको अतिक्रमण हटाउन भन्यो । तर, खोला खोज्न फिल्डमा गएन ।
२०७६ सालमा फेरि टुकुचा खोज्न महानगरले वडा नम्बर १ को कार्यालय र काठमाडौं उपत्यका विकास प्राधिकरणलाई पत्राचार गर्यो । उपत्यका विकास प्राधिकरण फिल्डमा पुग्यो तर, महानगरपालिकाले ‘फलोअप’ गरेन ।
टुकुचाको खोजीको विषय पटक-पटक उठ्दा पनि बीचमै सेलाउनुको मूल कारण थियो, जय नेपाल हल (नारायणहिटीको दक्षिण पर्खालसँगै सडकपारि) देखि काठमाडौं मल सम्म खोला नै गायब हुनु । यो खोला गायब भएका क्षेत्रमा ठूला-ठूला व्यवसायिक र आवासीय भवनहरु बनेका छन् । टुुकचा खोज्दा तिनलाई हटाउनु पर्ने अवस्था देखिएपछि महानगरको तत्कालीन नेतृत्वले आँट नै गर्न सकेन ।
हात्तीसारमा सडकको समानान्तर रुपमा बगेको टुकुचालाई करिब ४५० मिटरमा जमिनभित्र छोपिएको कुरा धेरैलाई थाहा नै थियो । तर, यति ठूला-ठूला कुन भवनको मुनि कुन भागबाट कस्तो अवस्थामा खोला बगिरहेको छ भन्ने कुरा खोजी नै भएन ।
३० वैशाख २०७९ को स्थानीय तह चुनावमा नयाँ नेतृत्व आएसँगै १२ साउनमा काठमाडौं महानगरले टुकुचा खोलाबारे सूचना निकालेर फेरि भन्यो, ‘काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनि ट्रान्सफर रहेको भवन (काठमाडौं प्लाजाको उत्तर तर्फ) देखि जय नेपाल हलसम्म टुकुचा खोलाको किनार क्षेत्रका अतिक्रमित संरचना हटाउनू ।’
सूचनामा घरधनी आफैंले नहटाएमा महानगरले ती संरचना आफैंले हटाउने चेतावनी दिएको थियो । यो पटक पनि टुकुचाबारेको सूचना विगतकै जस्तो ‘टाँस्नका लागि मात्रै हो’ भन्ने धेरैको अनुमान थियो । तर, बिहीबार दिउँसो साढे १ बजे जय नेपाल हलको परिसरमा महानगरको डोजर पुगेपछि भने अनुमान फेल खायो ।
यसपटक मेयर बालेन्द्र साह (बालेन) ले विगतको जसरी सूचना मात्रै जारी गर्ने तर, खोला नखोज्ने परम्परा तोडेका छन् । डोजर लिएर पुगेको महानगरको टोली बिहीबार दिउँसो देखि नै जय नेपाल हलको उत्तरतर्फको परिसरमा खन्न तल्लीन रह्यो । सुरुमा जय नेपाल हलको परिसरमा करिब १५ फिट खोतल्दा महानगरले खोला ढाकिएको परम्परागत गुम्बज शैली नाला फेला पारेको थियो ।
निर्मल निवास पछाडि सुनदेवीबाट सुरु भएको टुकुचा खोला नारायणहिटी दरबार संग्रहालय भित्र कल-कल बगिरहेकै छ । तर, जब नारायणहिटीको पर्खालबाट बाहिर निस्कन्छ, त्यसपछि भने खोला हेर्न झण्डै ५०० मिटर तल काठमाडौं प्लाजा नजिक आउनुपर्छ ।
विहीबार जय नेपाल हलको परिसरमुनि टुकुचा खोला भेटिदा स्थानीय वासिन्दा नै अचम्म परे । टुुकुचालाई गहिरो खाल्डोमा ईंटाको डोलो पाइप बनाएर बगाएको भेटिदा हेर्नेका भीड लाग्यो । जब इटाको गोलो पाइपभित्र बगिरहेको टुुकचा देखियो, भीडले तररर तालीले स्वागत पनि गर्यो । भीड यति थियो कि भेटिएको टुकुचा हेर्न आउनेहरुलाई पन्छाउन नगर र ट्राफिक प्रहरीलाई मुश्किल पर्यो ।
खोलाको हराएको भाग उत्खनन गरेको हेर्न महानगरकी उपप्रमुख सुनीता डंगोल आफैं पनि त्यहाँ पुगेकी थिइन् । उनले स्थानीयलाई सहयोगको लागि धन्यवाद दिइन् ।