दाङ, १७ असार । लुम्बिनी प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरुले नाराबाजी गरेका छन् । असार १३ गते आह्वान गरिएको बैठकमा बजेटको विषयमा आपत्ति जनाउँदै बिरोध गरेपछि बैठक अघि बढ्न सकेको थिएन । त्यसपछि अवरुद्ध प्रदेश सभा बैठक आइतवारको लागि आह्वान गरिएको थियो ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको बजेटमाथि छलफल गर्न आइतवार प्रदेशसभाको बैठक बसेको थियो । अर्थमन्त्री धनबहादुर मास्कीले बजेटमाथि सैद्धान्तिक छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्नसाथ विपक्षी सांसदले राज्यकोषको दुरुपयोग गर्ने गरी बजेट आएकोले संशोधन हुनुपर्ने भन्दै नाराबाजी गरेका हुन् । सांसदहरु रोष्टम अगाडि उभिएर नाराबाजी गर्दै विरोध जनाएका थिए ।
सरकारले लिखित जवाफ नदिँदासम्म बैठक चल्न नदिने अडान एमालेले लिएको छ । एमाले प्रमुख सचेतक तुलसी चौधरीले राज्यकोषको चरम दुरुपयोग गरी ल्याइएको बजेट संशोधन नभए सम्म सदन चल्न नदिने बताए ।
‘अहिलेको बजेटले प्रदेशको हित गर्दैन र यसले बेथिति मात्रै निम्त्याउने निश्चित छ,’ चौधरीले भने ।
असार १ गते अर्थमन्त्री मास्कीले ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट प्रदेशसभामा पेश गरेका थिए । बजेटबारे सहमति नजुट्दा बजेट पेश भएको दुई साता बितिसक्दा पनि छलफल सुरु भएको छैन ।
असार १० गते बजेट माथि छलफल गर्ने गरी आह्वान गरिएको प्रदेशसभा बैठक आन्तरिक तयारी नपुगेको भन्दै सूचना टाँसेर स्थगित भएको थियो । प्रतिपक्ष दलले बैठक अवरुद्ध गरेपछि बैठक सोमवार दिउँसो १ बजे सम्मका लागि स्थगित भएको छ ।