देउखुरी २५ असार । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पालिकाक्षेत्र भित्र देखिएका विद्युत सम्बन्धी विभिन्न समस्याहरुकाे बारेमा आईतवार नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेकाे ध्यानाकर्षण गराउनु भएको छ ।
उक्त समस्या बारे ध्यानाकर्षण गराउन अध्यक्ष विष्ट वितरण केन्द्रकाे कार्यालय लमही पुग्नु भएको थियोे ।
उहाँले पालिकाका नागरिकहरुलाई विद्युत महसुल बुझाउन लमही जानुपर्ने बध्यताकाे अन्त्य गर्नका लागि तत्काल विद्युत महसुस काउन्टर पालिका क्षेत्रमै स्थापना गर्न, कम भाेल्टेज हुने समस्याको स्थायी रुपमै समाधान खाेज्न प्रमुख लामिछानेलाई आग्रह गर्नु भएको थियोे ।
त्यस्तै उहाँले प्रदेशकाे राजधानी क्षेत्र भए पनि पालिकाकाे पहाडी र तराईकै कतिपय क्षेत्रहरुमा अझै सम्म पनि विद्युत नपुगेको भन्दै त्यस्ता ठाउँहरुमा तत्काल विद्युत विस्तार गर्न आग्रह गर्नु भयो ।
वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले लमही वितरण केन्द्र बाट तत्काल गर्न सकिने कामहरु भई रहेको भन्दै केही थप कामकाे लागि आफुले क्षेत्रीय कार्यालयमा फाइल पठाइसकेको बताउनुभयो ।
“फाइल क्षेत्रीय कार्यालयमा पठाएका छाैं, उहाँले भन्नुभयो -स्वीकृत भयो भने विद्युत सम्बन्धी धेरै समस्या समाधान हुन्छ ।”











