Dangali Onlinekhabar

Advertisment

SKIP THIS

छानबिन समिति गठनपछि राप्ती प्रतिष्ठानको विवाद साम्य

दाङ ३० असार । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बालकको मृत्यु भएपछि उत्पन्न विवाद साम्य भएको छ ।

घटनाको छानबिन गर्न समिति गठन गर्ने सहमति भएको प्रतिष्ठानका डेपुटी रजिस्टार तथा प्रवक्ता झङ्कार लामिछानेले बताए। उनका अनुसार घोराही उपमहानगरपालिका-३ का वडाध्यक्ष रामप्रसाद चौधरीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

छानबिन समितिमा प्रतिष्ठानबाट एक जना चिकित्सक, मृतकका आफन्त दुई जना, जिल्ला प्रशासनबाट एक जना, उपमहानगरको स्वास्थ्य शाखाबाट एक जना र राजनीतिक दलबाट एक जना सदस्य राखिएका छन् ।

समिति गठनसँगै मृतक बालकका आफन्तले विरोधका कार्यक्रम पनि रोकेका छन् । बिहीबार प्रतिष्ठानमा उपचाररत घोराही-३ का ११ वर्षीय आक्रोश नेपालीको मृत्यु भएको थियो । उपचारका क्रममा अक्सिजनको सिलिन्डर विष्फोट भएपछि उनको ज्यान गएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठान र चिकित्सकको लापरबाहीले बालकको ज्यान गएको भन्दै परिवारजन र स्थानीय बासिन्दा विरोधमा उत्रिएका थिए । स्थानीयको प्रदर्शनका कारण शुक्रबार प्रतिष्ठानको कामकाज ठप्प भएको थियो । सहमति भएसँगै प्रतिष्ठानले सेवा शुरू गरेको छ ।

शनिबार भएको सहमतिमा बालकको उपचारको क्रममा लागेको खर्च प्रतिष्ठानले नलिने भएको छ । त्यस्तै, शैक्षिक योग्यता अनुसार मृतक एकाघरका नजिकका आफन्तलाई रोजगारी दिने, पीडित परिवारका लागि आर्थिक सहयोग जुटाउन सर्वपक्षीय समिति बनाएर आर्थिक संकलन गरिने पनि सहमति भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation