![](https://dangalionlinekhabar.com/wp-content/uploads/2023/07/1689679835701-01.jpeg)
देउखुरी । राप्ती गाउँपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई ल्यापटप वितरण गरेको छ ।
गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी प्रधानाध्यापकहरुलाई एक/एक थान ल्यापटप वितरण गरेको हो । शैक्षिक गतिविधिलाई प्रविधिमैत्री बनाउन ल्यापटप वितरण गरिएको पालिकाले जनाएको छ । गाउँपालिकाका शिक्षा अधिकृत विश्वास बिकका अनुसार पालिकाभित्रका २७ वटा विद्यालयका प्रधानाध्यापकहरुलाई ल्यापटप वितरण गरिएको हो ।
उहाँले पालिकाभित्रका शिक्षक तथा शैक्षिक गतिविधिलाई प्रविधिमैत्री बनाउन, विद्यालयको तथ्यांक अभिलेखलाई डिजिटलरुपमा सुरक्षित राख्न र विद्यालयको नेतृत्वलाई प्रविधिमैत्री बनाउन सहज हुने बताउनुभयो ।
गाउँपालिकाले प्रदेश सरकारको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम र संघको विशेष अनुदानबाट ल्यापटप वितरण गरेको हो । प्रदेशबाट नौ लाख ५० हजार र संघबाट नौ लाख ९९ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
गाउँपालिकामा २७ वटा सामुदायिक र १८ संस्थागत गरी ४५ वटा विद्यालय सञ्चालनमा छन् । सामुदायिक विद्यालयमा नौ हजार दुई सय ३० र संस्थागतमा छ हजार दुई सय ८७ गरी १५ हजार पाँच सय १७ जना विद्यार्थी अध्ययनरत छन् ।