Dangali Onlinekhabar

Advertisment

SKIP THIS

दाङमा गएराति देखि परेको अविरल वर्षाका कारण विभिन्न स्थान डुबान

भालुवाङ ९ साउन  गएराति देखि परेको अविरल वर्षाका कारण दाङको देउखुरी क्षेत्र जलमग्न भएको छ । भने एक दर्जन बढी घर डुबानमा पर्नुका साथै धानबाली र तरकारी बाली समेत डुवानमा परेको छ । राजपुर र गढवा गाउँपालिकाका साथै लमही नगरपालिकामा केही घर डुबानमा परेका छन् ।

राप्ती नदीमा आएको बाढीका कारण राजपुर गाउँपालिका ५ भुर्कीहवाका स्थानीयको १२ वटा घर जति डुबानमा परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए । वडाध्यक्ष टंकबहादुर विष्टका साथै प्रहरी सहायक निरीक्षक महावीर चौधरी घटनास्थलमा खटिएका छन् ।

राजपुर २ की ३२ वर्षीया पुष्पा नेपालीको एक तले फुसले छाएको कच्ची घर अविरल वर्षाका कारण भत्किएको छ । घटनास्थलमा खटिएका प्रहरी नायब निरीक्षक रकम खड्काले कुनै मानवीय क्षति नभएको र नेपाली छिमेकीको घरमा आश्रय लिइरहेको जानकारी दिए ।

त्यस्तै, लमही नगरपालिका १ सुनडबरी र वडा नम्बर ३ को कान्तिपुरमा चार जना स्थानीयको घर डुबानमा परेको छ । सुनडबरीका ७० वर्षीय निमबहादुर सार्कीको घरमा पानी पसेपछि उनको दुई जनाको परिवारलाई छोरा छबे सार्कीको घरमा स्थानन्तरण गरिएको प्रहरीले जानकारी दिएको छ ।

कान्तिपुरका ३६ वर्षीय रामबहादुर कुमालको घरमा पानी पसेपछि उनीहरू छतमा बसेको र उनीहरुको उद्धार कार्य जारी रहेको प्रहरीले बताएको छ । स्थानीय ४० वर्षीय सुशिल कुमाल र ६० वर्षीय दयाराम चौधरीको दुई तले कच्ची घरमा पानी पसे पनि उनीहरूको परिवार डुबान हुन थालेपछि निस्किएर सुरक्षित ठाउँमा पुगेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।

डुबानमा परेका व्यक्तिहरूको उद्धारको लागि यहाँ दश जनाको प्रहरी टोली खटिएको छ । त्यस्तै, तुलसीपुर उपमहानगरपालिका १४ जनकपुरमा खोलामा आएको बाढीले एउटा स्कार्पियो बगाइदिएको छ । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको बा ११ च १५११ नम्बरको स्कार्पियो बिहान पौने ११ बजेतिर बगाएको प्रहरी सहायक निरीक्षक दीपक चन्दले बताए। स्कार्पियो निकाल्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

अविरल वर्षापछि ठाउँ-ठाउँमा पहिरो जाँदा कालाकाँटेदेखि गोबडिया हुँदै गढवा जोड्ने हुलाकी सडक खण्ड अवरूद्ध भएको छ । प्रहरी सहायक निरीक्षक नेत्र केसीले बाढी आई ठाउँ ठाउँमा हिलो माटो खसेको हुँदा सडकखण्ड अवरूद्ध भएको जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation