नेपाल टेलिकमले हाल दूरसञ्चार कार्यालय सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ग्राहकहरूलाई निःशुल्क ई–सिम वितरण गरिरहेको छ ।
पर्याप्त मात्रामा आन्तरिक परीक्षण र प्रयोगबाट सफल भएपछि ग्राहकहरूमाझ प्रबर्द्धनात्मक परीक्षणको रूपमा वितरण भइरहेको ई–सिमको लागि कम्पनीसँग यथेष्ट संख्या मौज्दात रहेको जानकारी कम्पनीले दिएको छ ।
हाल सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट मात्र वितरण भइरहेको ई–सिम भोलि (असोज ४ गतेदेखि) कम्पनीका ग्राहक सेवा केन्द्रहरू नक्साल, चावहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु र छाउनी कार्यालयहरू लगायत ग्राहक सेवा केन्द्र पुलचोकबाट पनि माग बमोजिम वितरण गरिने बताइएको छ ।
मोबाइल सेटमा ई–सिम इन्स्टल गर्नका लागि क्युआर कोडमार्फत स्क्यान गर्नुपर्छ। क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र ई–सिम प्रयोग गर्न सकिन्छ । त्यसैले सबैभन्दा पहिले आफ्नो मोबाइल सेटमा ई–सिम चल्ने/नचल्ने यकिन गरेर मात्र ई–सिमका लागि कम्पनीका ग्राहक सेवा केन्द्रमा जान ग्राहकहरूमा कम्पनीले अनुरोध गरेको छ ।
यसका लागि आफ्नो मोबाइलबाट “एस्ट्रिक ह्रयास ०६ ह्रयास” डायल गर्नुपर्छ । यसरी डायल गर्दा ई–आइडी लेखिएको संकेतसहित नम्बरहरू देखियो भने उक्त सेटमा ई–सिम चल्छ भनी थाहा पाउन सकिन्छ । त्यसैगरी, आइफोन र एन्ड्रोइड सिस्टमयुक्त मोबाइल सेटको सेटिङमा भएका विभिन्न अप्सन हेरेर पनि ई–सिम चल्ने वा नचल्ने पत्ता लगाउन सकिन्छ ।
आइफोन वा एन्ड्रोइडको सेटिङमा “एड मोवाइल प्लान वा एड डेटा प्लान” देखियो भने पनि त्यसमा सामान्यतः ई–सिम चल्छ भन्ने बुझिन्छ ।
फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिम हालका लागि निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने कम्पनीले बताएको छ । त्यसैगरी, नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै ई–सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने छ ।
ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डेटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिने कम्पनीले जनाएको छ ।