दाङ । लुम्बिनी प्रदेश सरकारले एक सय दिनको उपलब्धि सार्वजनिक गरेको छ। स्थानीय उत्पादनका सामाग्रीको ब्राण्डिङ गर्दै दुई लाख व्यक्तिलाई रोजगारी सिर्जना गर्ने गरी काम भइरहेको सरकारको दाबी छ । कानुन निर्माणसँगै आर्थिक समृद्धिको आधार तयार पार्नेसम्मका कामहरु सरकारले प्रमुख उपलब्धिको रुपमा लिएको छ ।
तर, यो एक सय दिनको अवधिमा सरकारले पूर्णता भने पाउन सकेन । अझै तीन जना मन्त्री थप गर्न बाँकी छ । तर, सत्ता साझेदार दलहरुको बीचमा कुरा नमिल्दा सरकारलाई पूर्णता दिन नसकिएको हो ।
प्रदेश सरकारले एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै संघीयता कार्यान्वयनमा रोल मोडेल बन्ने गरी काम अघि बढाएको बताएको छ । स्थानीय सामाग्रीको उत्पादन र त्यसको बजारीकरणबाट मात्रै गाउँगाउँमा रोजगारी सिर्जना गर्न सकिने भन्दै चालु आर्थिक वर्षमा दुई लाख व्यक्तिलाई रोजगारी दिने योजना रहेको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए ।
‘सरकारको प्रमुख ध्यान भनेकै आर्थिक विकासमा छ। त्यसका लागि स्थानीय उत्पादनको सामाग्रीको बजारीकरण र त्यसको ब्राण्डिङ नै आधार हो,’ उनले भने,‘अहिले हामीले आर्थिक विकासलाई प्राथमिकतामा राखेर मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम अघि सारेका छौँ । बजेट पनि प्रशस्त छ । केन्द्र सरकारसँग पनि डेढ अर्ब बजेट मागेका छौँ । अर्को कुरा दातृ निकायसँग पनि अनुरोध गरेका छौँ ।’
गत वैशाख १५ मा लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन भएको थियो। सरकार गठन भएको १०१ दिन पुगेको सन्दर्भमा उपलब्धि सार्वजनिक गरिएको हो । जसमा कानुन निर्माणतर्फ निजामती कर्मचारी विधेयक संसदमा दर्ता गरेकोदेखि भौतिक पूर्वाधारतर्फ भएका प्रगतिहरु रहेका छन् ।
यो सय दिनमा १७५ किलोमिटर सडक कालोपत्रे भएको, १५० किलोमिटर सडक ग्राभेल गरिएको, १५ वटा पक्की सडक सम्पन्न भएको सरकारको भनाइ छ। सडक तथा पुलका विभिन्न १५ वटा आयोजनाहरुको बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत भएर खरिद प्रक्रिया अघि बढेको छ ।
यस्तै, लम्पी स्किन रोगको रोकथामका लागि स्थानीय तहसमेतको सहकार्यमा हालसम्म ४४ हजार पशुहरुमा खोप र एक लाख १६ हजार पशुहरुको उपचार गरिएको छ । थप एक लाख ५० हजार खोप र ६५ हजारलाइ उपचार गर्ने व्यवस्था सरकारले मिलाएको छ ।
प्रदेश सरकार लयमा हिँडिरहेको र जनताको दैनिक समस्याहरु समाधान गर्ने गरी काम भइरहेको गृहमन्त्री सन्तोषकुमार पाण्डेले बताए ।
‘सरकारले लय पक्रेको छ। जनताको दैनिकी समस्या समाधान गर्ने गरी हामीले काम गरिरहेका छौँ,’ उनले भने,‘यो सय दिनको अवधिमा प्रदेश सरकार भएको महसुस प्रदेशबासीले गर्नुभएको छ ।’