गढवा ३० श्रावण । दाङको गढवा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी बिच कार्यसम्पादन सम्बन्धी समन्वय बैठक मंगलवार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको बैठकमा गत आर्थिक वर्ष २०७९/०८० मा भए गरेका काम कर्तव्य, कार्यसम्पादन गर्दा सेवाग्राही, कर्मचारी र जनप्रतिनिधि बाट भए गरेका सहयोग असहयोग, व्यवहार र सहयोगको बारेमा छलफल तथा समिक्षा गरिएको गढवा गाउँपालिकाले जनाएको छ ।
साथै जनप्रतिनिधिहरुले कर्मचारीबाट गरेका अपेक्षा र त्यसको चुनौतीहरूको बारेमा बृहत छलफल भएको छ । पालिकाले आर्थिक वर्ष २०८०/०८१ मा नमुना कार्यसम्पादन गर्नका लागि अग्रिम तयारी गर्नका लागि गढवा जनप्रतिनिधि तथा कर्मचारी बिच समन्वय बैठकको आयोजना गरिएको हो ।
बैठकमा गढवा गाउँपालिकाका सम्पूर्ण शाखाका शाखा प्रमुखहरुले गत आर्थिक बर्षको अनुभव र आर्थिक वर्ष २०८०/०८१ को कार्ययोजना प्रस्तुत गरेको गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्माले जानकारी दिनुभयो । शाखा प्रमुखहरुले प्रस्तुत गरेको कार्ययोजना माथी जनप्रतिनिधिहरुले चर्चा परिचर्चा गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले आफुहरुको काम गर्न सक्षम भएको तर एउटा बिज्ञ टिम निर्माण गर्ने तर्फ सोच बनाएको बताउनु भयो । समग्र गाउँपालिकाको बिकाशको लागि बिज्ञको आवश्यकता महसुस भएको बताउनुभयो । पालिकाको बिभिन्न कामहरु ढिला सुस्ती भएको गुनासो आएको बताउदै पहिलो बर्ष आफुहरुको नयाँ र अनुभवको बर्ष भएकोले आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन उत्कृष्ट हुने बताउनु भयो ।
कार्य सम्पादन चुस्त दुस्त बनाउन नितिगत रुपमा उत्कृष्ट हुनुपर्ने बताउनुभयो । पालिका संग गुनासो आउने गरेको भन्दै सेवाग्राहीलाई सकभर एकै दिनमा काम सम्पन्न हुने अथवा कमीकमजोरी टिपोट गरी दोस्रो पटकमा अनिवार्य सेवा दिने हिसावले सबै कर्मचारी लाग्न आवश्यक रहेको बताउनुभयो । पालिकाको निति नियम उत्कृष्ट भएता पनि केही कामहरु व्यवहारीक रुपमा गर्दा समस्या परेको बताउदै अबको आर्थिक वर्ष निति संगत अघि बढ्नु पर्ने बताउनुभयो । जनप्रतिनिधि र कर्मचारी बिचको मनमुटाव हुन नदिन कर्मचारी र जनप्रतिनिधिहरु बिचको अन्तरक्रिया कार्यक्रममा गर्नु पर्ने बताउनुभयो ।
त्यसैगरी बैठकमा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले कर्मचारी र जनप्रतिनिधि बिचको समन्वय मित्रभावको हुनु पर्ने बताउनुभयो । जनप्रतिनिधि र कर्मचारी बिचको दुरी बढे पालिकाको कार्यसम्पादनको ठुलो ढिलाई हुने बताउदै जनप्रतिनिधि र कर्मचारी बिचको दुरी सधै शुन्य गराउनु पर्ने बताउनुभयो । साथै आफ्नो ठुलो जिम्मेवारी भएको बताउदै अनुगमन लगायतको सबै काम नितिगत र सबै संग सरसल्लाह गरेर अघि बढ्ने बताउनुभयो ।
बैठकमा बोल्दै गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाले पालिकाको हकहितको लागि कर्मचारी र जनप्रतिनिधि बिचको दुरी शुन्य बनाउनु पर्ने बताउनु भयो । शाखा शाखा बिचको मनमुटाव लगाएतको समस्या पालिकाको समग्र बिकासमा बाधक बन्ने बताउदै आपसी समझदारीमा एकजुट भई लाग्नै पर्ने बताउनु भयो । पालिकाको कार्यसम्पादन नितिगत गर्नु पर्ने अन्यथा ठुलो समस्या पर्ने बताउनुभयो । नितिगत रुपमा सबै सजग बन्नु पर्ने बताउनुभयो । आगामी दिनमा उत्कृष्ट कार्य सम्पादन गरकन कर्मचारी सदैव तत्पर रहनु पर्ने बताउनुभयो ।
त्यसैगरी कार्यसम्पादन सम्बन्धी समन्वय बैठकमा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, लेखा समिति संयोजक तथा वडा नम्बर ३ को वडा सदस्य आशाराम चौधरी, बिधायन समिति संयोजक तथा ४ नम्बर वडा सदस्य टुकमान कुवर, योजना तथा शुसाशन समिति संयोजक तथा वडा नम्बर ४ का वडा सदस्य अतिउल्लाह मनिहार त्यसैगरी गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारी, ४ नम्बर वडाध्यक्ष हरी भगत चौधरी, ५ नम्बर वडाका वडाध्यक्ष लेखराज थापा, वडा नम्बर ६ का वडाध्यक्ष विर बहादुर आले मगर, वडा नम्बर ७ का वडाध्यक्ष राहुलदेव चौधरी र वडा नम्बर ८ का वडाध्यक्ष खालिक सिद्दिकी लगाएतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुकले गर्नु भएको थियो ।