देउखुरी ५ भाद्र । दाङ्गको राप्ती गाउँपालिकाले दुधमा अनुदान दिन थालेपछि दूध उत्पादक कृषकहरू उत्साहित भएका छन् ।
पालिकाले दुध उत्पादक किसानलाई प्रति लिटर दुई रुपैयाँ दिने गरेको छ आर्थिक वर्ष २०७९/०८० मा पालिकामा १ लाख ७३ हजार ७ सय ५३ लिटर दुध उत्पादन भएको थियो ।
दुधमा प्रति लिटर दुई रुपैयाँका दरले किसानलाई प्रोत्साहन स्वरुप रकम उपलब्ध गराइएपछि पालिकामा दुध उत्पादनमा समेत वृद्वि भएको पशुसेवा शाखाका शाखा प्रमुख जिवराज पौडेलले जानकारी दिनुभयो ।
आ व २०७९/८० मा ७३ किसानहरुलाई दुधमा अनुदान दिइएको थियो । पालिकामा दर्ता भएका ९ वटा डेरीहरु मार्फत दूध बिक्री गर्ने ७३ जना किसानले अनुदान पाएका हुन् । दुध विक्री गरेको आधारमा किसानहरुलाई प्रोत्साहन रकम प्रदान गरिएको शाखा प्रमुख पाैडेलकाे भनाई रहेको थियो ।
पालिकाले दिने अनुदान रकम सिधै किसानको बैंक खातामा पठाउने व्यवस्था गरिएको छ । अनुदान अन्तर्गत ७३ किसानले ३ लाख ४७ हजार ५ सय ६० रुपैयाँ प्राप्त गरेका थिए ।
पालिकामा उत्पादन भएको दुध अधिकाशं पालिका भित्रै खपत हुने र केहि पालिका बाहिर समेत निकासी हुने गरेको छ ।
दुध उत्पादक सहकारी संस्था तथा डेरीहरुमा उपलब्ध विवरणका आधारमा पालिकामा १ लाख ७३ हजार ७ सय ५३ लिटर लिटर दुध उत्पादन भएको छ ।
गाउँमै उत्पादन भएर गाउँमै खपत भएको रेकड भने नभएकाले यो भन्दा धेरै दुध पालिकामा उत्पादन हुने गरेको र यस वर्ष देखि त्यस्ता किसानहरुलाई पनि समेटेर लगिने शाखाको भनाई छ ।
किसानलाई दुधमा अनुदान उपलब्ध गराउदा पालिकामा अघिल्ला वर्ष भन्दा यस वर्ष दुध उत्पादनमा वृद्वि भएको शाखाले जनाएको छ । आगामी आर्थिक वर्षमा समेत उक्त कार्यक्रम लाई निरन्तरता दिदै अनुदान लाई बढाएर प्रति लिटर ४ रुपैयाँ गराइएको छ ।
दूध उत्पादक सहकारी संस्था तथा डेरीहरू मार्फत दूध बिक्री गर्दा कृषकहरूकाे समयकाे बचत हुनुका साथै उपभाेक्ताहरुलाई समेत स्वस्थकर दूध उपलब्ध गराउन सहज हुने गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।
गत वर्ष अनुदान पाउन बाट छुट भएका दूध उत्पादक किसानहरुलाई समेत यस वर्ष साे कार्यक्रममा समेटेर लैजाने पालिका अध्यक्ष विष्टले बताउनु भएको छ ।











