
संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ। उनको मंगलबार राति साढे १ बजे हृदयघातबाट निधन भएको एमालेका प्रतिनिधि सभाका सचेतक महेश बर्तौलाले जानकारी दिए ।
काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल अस्पताल लगिएको थियो ।
निधन भएका नेम्वाङ एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता हुन् ।
२०५१ मा राज्यमन्त्री र मन्त्री बनेका उनी दुवै संविधान सभाका अध्यक्ष पनि हुन्। २०४८ मा राष्ट्रिय सभा सदस्य भई संसदीय यात्रा सुरु गरेका उनी २०५६ देखि २०७९ सम्मका सबै प्रतिनिधि सभा/संविधान सभा निर्वाचनमा विजयी भएका थिए ।
नेम्वाङ २०२८ सालदेखि निरन्तर राजनीतिमा सक्रिय भएका थिए। २०२८/२९ सालमा अनेरास्ववियुबाट इलाम बहुमुखी क्याम्पसमा स्ववियु सभापति भएका थिए । २०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिस्ट पार्टी कोअर्डिनेशन केन्द्र (माले) मा संगठित भएका थिए। त्यसपछि माले र एमालेको उपल्लो तहमा रहेर राजनीतिक भूमिका निर्वाह गर्दै आएका थिए ।