
देउखुरी । लुम्बिनी प्रदेश दाङग जिल्लाको राप्ती गाउँ पालिका सिसहनियाँ स्वास्थ्य चौकीमा २४ घण्टा आकस्मीक सेवा सुरु भएको छ ।
सिसहनियाँ स्वास्थ्य चौकीमा विहान १० बजे देखी बेलुका ५ बजे सम्म मात्रै स्वास्थ्य सेवा प्रदान हुदै आएको थियो । तर, अव २४ घण्टा आकस्मीक स्वास्थ्य उपचार सेवा दिन थालिएको छ । स्थानीय सरकारले एमविविएस डाक्टरको दरवन्दीको व्यवस्था गरेर आकस्मीक सेवालाई २४ घण्टा प्रदान गर्न थालेको हो ।
उपचार सेवा सहज रुपमा पाउन थालेपछी स्थानीयहरु खुसी भएका छन् । यस अघि रातीको समयमा पूर्व पश्चिम राजमार्गमा हुने सवारी दुर्घटनाका बिरामीलाई आकस्मीक सेवा प्रदान गर्न नसक्ने अवस्था थियो । जसले गर्दा उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेकोमा अव देखी आकस्मीक स्वास्थ्य सेवा प्रदान गर्न सकिने अवस्था रहेको सिसहनियाँ स्वास्थ्य चौकीमा कार्यरत डाक्टर भरत पोख्रेलले बताए । ‘कार्यालय समयमा मात्रै स्वास्थ्य चौकी खुल्थ्यो । अव २४ घण्टा खुल्छ । सबै समयमा उपचार सेवा पाईन्छ’ उनले भने ‘हामी दुई जना एमविविएस डाक्टर छौं । अन्य स्वास्थ्यकर्मी पनि हुनुहुन्छ ।’
स्वास्थ्य चौकीबाट अस्पताल सरहको सुविधा पुर्याउने योजनाका साथ काम भइरहेको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए । नयाँ अस्पताल भवन बनिरहेको र त्यहाँबाट सेवा सुरु नगर्दा सम्म स्वास्थ्य चौकीबाट २४ घण्टा आकस्मीक उपचार सेवा दिइने उनले बताए । ‘शिक्षा र स्वास्थ्य हाम्रा प्राथमिकताका बिषय हुन । त्यही भएर स्वास्थ्यलाई सबैको पहुँचमा पुर्याउन खोजेका छौं’अध्यक्ष विष्टले भने–‘उपचार पाउने र बाच्न पाउने अधिरकाको सुनिश्चितता गर्न चाहन्छौं ।’
राप्ती गाउँपालिकाले स्वास्थ्य चौकीको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन लगानी लगाएको छ । दुई जना एमविविएस डाक्टर नियुक्त गरेर बिशेषज्ञ उपचार सहित आकस्मीक स्वास्थ्य उपचार सेवा सञ्चालन गरेको वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष देवप्रसाद चौधरीले जानकारी दिए ।‘ पहिला सामान्य उपचार गर्न पनि जिल्ला बाहिर जानुपर्ने अवस्था थियो भने अव सामान्य उपचार र बिशेषज्ञ उपचार यहीबाट दिन थालेका हौं’उनले भने –‘प्रतिबद्धता अनुसार काम भइरहेको छ ।’
आकस्मीक स्वास्थ्य उपचारलाई थप प्रभावकारी बनाउदै स्वास्थ्य चौकीको स्तरबृद्धि गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिन्छ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको अध्यक्षतामा भएको सेवा सुभारम्भ कार्यक्रममा बोल्ने वक्ताहरुले आधारभुत स्वास्थ्य उपचारमा नागरिकको पहुँच बढेको र बिशेषज्ञ उपचारमा पनि सबैको समान पहुँच हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, स्वास्थ्यकर्मी, निवर्तमान जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंमसेविका लगायतको सहभागीता थियो ।