दाङ । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले स्थानीय तहमा संचालित स्वास्थ्य चौकीहरुमा संघ र प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा स्वास्थ्य चाैकीहरुबाट नि:शुल्क वितरण हुने औषधी समयमै उपलब्ध गराउन समस्या भएको बताउनु भएको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयकाे आगामी सात वर्षे याेजनाका बारेमा दाङको घाेराहीमा आयाेजित छलफल कार्यक्रममा अध्यक्ष विष्टले यस्तो बताउनु भएको हाे ।
संघ सरकारले स्वास्थ्य चौकीहरुबाट नि:शुल्क वितरण हुने ३९ प्रकारका औषधिको मात्रा बढाएर ९८ प्रकारको बनाएको तर बजेट भने उहीँ पहिलाको जस्तै वार्षिक १०/१२ लाख मात्रै पठाउने गरेको प्रति असन्तुष्टि जनाउँदै अध्यक्ष विष्टले प्रदेश तथा संघ सरकारकाे त्यस तर्फ ध्यानाकर्षण गराउनु भएको छ ।
त्यस्तै अध्यक्ष विष्टले गरिब तथा बिपन्न नागरिकको उपचार राज्यबाट पुर्ण रूपमा नि:शुल्क गराउनु पर्ने र त्यसका लागि संघ, प्रदेश र स्थानीय सरकारको एक आर्कामा सहकार्य र समन्वय हुनुपर्ने कुरामा जोड दिनु भयो ।
बिरामीहरुकाे चापलाई धान्न सक्ने दक्ष जनशक्ति उत्पादन तर्फ राज्यले ध्यान दिन आवश्यक रहेको बताउदै अध्यक्ष विष्टले प्रदेश र संघ सरकारले नै नितिगत रूपमै जङ्कफुड जस्ता अखाद्य बस्तुलाइ प्रतिबन्ध लगाउनु पर्ने बताउनुभयो ।
छात्रवृत्तिमा डाक्टर पढेकालाई अनिवार्य रूपमा स्वदेशमा बसेर जनताको सेवा गर्ने खालको वातावरण बनाउन सरकार जिम्मेवार भएर लाग्नु पर्ने उहाँको बनाई थियो ।
त्यस्तै उहाँले लुम्बिनी प्रदेशको राजधानी घोषणा भएको तीन वर्ष बितिसक्दा पनि यस क्षेत्रमा एउटा सुबिधा सम्पन्न अस्पताल बन्न नसकेकोमा संघ सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत, प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनाल लगायत स्वास्थ्य मन्त्रालयका सचीवहरुको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ ।