Dangali Onlinekhabar

Advertisment

SKIP THIS

आज बडादसैँको सातौँ दिन, घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ ।  बडादसैँ अन्तर्गत नवरात्रको आज सातौँ दिन । आजको दिनलाई सप्तमी वा फूलपाती भनिन्छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा जमरा राखिएको ठाउँमा साँझपख देवीको आराधनासहित फूलपाती भित्र्याउने चलन छ ।

फूलपातीमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल, मानवृक्षलगायत रहन्छ । यसलाई नवपत्रिका पनि भनिन्छ ।

फूलपातीलाई नौवटी देवीको प्रतीकका रूपमा भित्र्याउने चलन रहिआएको  संस्कृतिविद्हरूको भनाइ छ । ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकीदेवीको आह्वान गरी पूजा गरिन्छ ।

सप्तमीको दिन आज हनुमानढोका दरबारको दसैँ घरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको  जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्यान्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती लैजाने प्रचलन छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दसैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्छ ।

आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्छ ।

नौ दिनसम्म  शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ । विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation