काठमाडौं १६ कार्तिक । सर्वोच्च अदालतले गुण्डा नाईके रिगल भनिने योगराज ढकाललाई तत्काल पक्राउ गरेर बाँकी रहेको ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तान गराउन आदेश दिएको छ ।
बिहीबार सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो ।
आफ्ना पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।
रिटमाथि सुनुवाइ गर्दै अदालतले बिहीबार कैद सजाय मिनाहाको निर्णय बदर हुने आदेश सुनाएको हो । सरकारको निर्णयविरुद्ध चेतनकी श्रीमती भारती असोज १७ देखि अनशन समेत बसेकी थिइन् । दशैंका बेला स्थगित अनशन उनले फेरि सुरु गरेकी थिइन् भने १३ कात्तिकमा अनशन स्थलमै उनी बेहोस समेत भएकी थिइन् ।
नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २०७२ असार २८ गते चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगलमाथि थियो । त्यसमा अदालतबाट दोषी ठहर भएर उनले जन्मकैदको सजाय पाएका थिए । सरकारले कैद माफी दिएपछि उनी जिल्ला कारागार, दाङबाट छुटेका थिए ।
रिगलको कैद माफीका लागि कांग्रेस नेताहरुको जोडबल थियो । सर्वोच्चको फैसलापछि रिगलले थप ११ वर्ष ११ महिना ५ दिन कारागारमा बिताउनुपर्नेछ ।