जाजरकाेट भूकम्प प्रभावितहरूको उद्धार तथा उपचारका लागि लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मीसहितको टोली पठाएको छ । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मासँग सहयोगको आवश्यकताको विषयमा छलफल गरेका थिए ।
कर्णालीका मुख्यमन्त्री शर्माले तत्काल स्वास्थ्यकर्मीको आवश्यकता बढिरहेको र सहयोगका लागि आग्रह गरेपछि लुम्बिनीका मुख्यमन्त्री चौधरीले राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङका मेडिकल सुपरिटेडेन्ट डा. पदमराज अधिकारीको नेतृत्वमा २० जना स्वास्थ्यकर्मी र औषधीसहितको टोली जाजरकोट र रुकुमका लागि पठाएका हुन् ।
टोलीमा अधिकांश सरकारी अस्पतालहरूका स्वास्थ्यकर्मी र केही निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी छन् । औषधिसहित खटिएको टोली दाङबाट जाजरकोटका लागि प्रस्थान गरिसकेको मुख्यमन्त्री चौधरीले बताए ।
उपचार समन्वयका लागि गृहमन्त्री पाण्डेसहितको टोली पनि जाने
उद्धार र समन्वयका लागि लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेको नेतृत्वमा पनि सरकारको अर्को टोली जाजरकोट जाने तयारी गरिरहेको छ । टोलीमा सरकारका प्रतिनिधि, उद्धारका लागि आवश्यक पर्ने सुरक्षाकर्मीसहितको विशेषज्ञ टोली पनि जाजरकोट जान लागेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार गोपालप्रसाद शर्माले बताए । गृहमन्त्री पाण्डे नेतृत्वको टोली पनि केहीबेरमै देउखुरीबाट हिँड्न लागेको उनले बताए ।
त्यस्तै भूकम्पमा परी घाइतेहरूको स्वास्थ्य उपचार तथा उद्धारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको टोली पनि भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । मानवीय क्षति न्यूनीकरण तथा त्यहाँको स्वास्थ्य उपचारलाई सहज बनाउने उद्देश्यले डाक्टरसहितको टोली औषधी लिएर त्यसतर्फ प्रस्थान गरेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले जानकारी दिए । अस्पतालका एमडीजीपी डा. सुनिल सुनारको नेतृत्वमा ५ जनाको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो । भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि अस्पतालमा बिरामी ल्याउनुपर्ने अवस्थामा समेत अस्पतालले तयारी गरिरहेको उनले जानकारी दिए ।
गएराति राति ११ः ३७ मा जाजरकोटको रामिडाँडा केन्द्र भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो । मानिसहरू सुतिरहेको अवस्थामा भूकम्प गएकाले घरभित्र च्यापिएर धेरैको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिममा गरी अहिलेसम्म मृत्यु हुनेको संख्या १ सय ३१ पुगेको छ भने डेढ सयभन्दा बढी घाइते भएका छन् ।
भूकम्पले गरेको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै राजनीतिक दलका नेताहरूले आ–आफ्नो पार्टी कमिटीलाई खोज, उद्धारमा लाग्न अनुरोध गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल बिहानै भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् । उनका साथमा स्वास्थ्यकर्मीकाे टिम पनि गएकाे छ ।