
संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो भिसा नीति परिवर्तन गरेको छ । नयाँ अध्यागमन प्रणालीअन्तर्गत गत महिना संशोधन गरिएको भिसा नीति सोमबारबाट लागू भएको हो । नयाँ भिसा नीतिअनुसार युएई घुम्न जाने पर्यटकलाई लामो समयको भिसा दिनुका साथै विभिन्न पेसाकर्मीलाई लामो अवधि बस्ने सुविधा दिइएको बिबिसीले लेखेको छ । त्यस्तै उद्यमी, लगानीकर्ता र पेसाकर्मीहरूका लागि १० वर्षको ‘गोल्डन भिसा’ कार्यक्रम लागू गरिएको छ ।
यसलाई युएईको नीतिमा आएको पछिल्लो समयको सबभन्दा ठूलो परिवर्तनका रूपमा लिइएको छ । युएईको वैदेशिक मामिला विभागका महानिर्देशक मेजर जनरल सुल्तान युसेफ अल नुआमीले भ्रमण, रोजगार र व्यवसाय निम्ति युएईलाई एक आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्न नयाँ भिसा नीति लागू गरिएको बताएका छन् ।
युएईले लागू गरेको नयाँ भिसा नीतिले पर्यटक वा त्यहाँ रोजगार र बसोबास निम्ति जान चाहने व्यक्तिहरूलाई के असर पार्छ त?
सबभन्दा पहिला कुरा गरौं, ग्रिन भिसाको :
ग्रिन भिसा भनेको नवीकरण गर्न सकिने आवासीय भिसा हो । यो भिसा लिएर आप्रवासीहरू युएईमा पाँच वर्षसम्म बस्न सक्ने छन् । अवधि सकिएपछि भिसा नवीकरण गर्न सकिनेछ ।
ग्रिन भिसाको मुख्य विशेषता भनेको यो ‘सेल्फ स्पोन्सर्ड’ भिसा हो । यो भिसा नवीकरण गराउन आप्रवासीहरूलाई युएईका नागरिक वा रोजगारदाताको स्पोन्सरसिप आवश्यक पर्ने छैन । स्वतन्त्र पेसाकर्मी, दक्ष कामदार तथा लगानीकर्ता वा व्यावसायिक साझेदारहरू यो भिसाका हकदार हुनेछन् ।
ग्रिन भिसा लिने आप्रवासीलाई युएई सरकारले थप सहुलियतको व्यवस्था पनि गरेको छ । उनीहरूले आफ्ना श्रीमान वा श्रीमती, सन्तान र नजिकका नातेदारलाई युएईमा आफूसँगै राख्न सक्नेछन् ।
ग्रिन भिसा लिएका आमाबाबुले २५ वर्षभन्दा कम उमेरका आफ्ना छोराहरूलाई त्यहाँ राख्न सक्नेछन् । पहिले यो उमेर सीमा १८ वर्ष थियो । अविवाहित छोरी र शारीरिक अपांगता भएका सन्तानका लागि उमेरको हद तोकिएको छैन । ग्रिन भिसा लिएका आप्रवासीलाई भिसा अवधि सकिएको छ महिनासम्म युएईमा बस्ने सुविधा पनि दिइएको छ।
अब कुरा गरौं, १० वर्षको गोल्डन भिसाबारे :
गोल्डन भिसा युएईमा लगानी गर्ने विदेशी उद्यमी, अनुसन्धाता, मेडिकल पेसाकर्मी, विज्ञान तथा अन्य क्षेत्रसँग सम्बन्धित विशेषज्ञ, अत्यन्त प्रतिभाशाली विद्यार्थी र स्नातकहरूलाई दिइनेछ ।
युएईले सम्बन्धित क्षेत्रका विज्ञ र प्रतिभाशाली विद्यार्थी आकर्षित गर्ने उद्देश्यले सन् २०२० मा गोल्डन भिसा नीति लागू गरेको थियो । कार्यान्वयन भएको पहिलो वर्षमा दुबईमा मात्र ४४ हजार गोल्डन भिसा जारी गरिएको युएईको पत्रिका ‘द नेसनल’ ले जनाएको छ ।
गोल्डेन भिसा अवधि १० वर्षको हुनेछ भने यस्तो भिसा पाउनेहरूलाई विभिन्न सुविधा दिइएको छ । यस्तो भिसा लिएका आप्रवासीले आफ्नो शतप्रतिशत स्वामित्वमा व्यापार–व्यवसाय सञ्चालन गर्न सक्नेछन् ।
पहिला युएईबाट छ महिना बाहिर बस्नेहरूको भिसा स्वतः खारेज हुने व्यवस्था थियो । तर १० वर्षको गोल्डन भिसामा यो व्यवस्था खारेज गरिएको छ । गोल्डन भिसा लिएका आप्रवासी जतिसुकै अवधिका लागि युएईबाट बाहिर रहे पनि उनीहरूको भिसा कायम रहनेछ ।
यति मात्र होइन, उनीहरूले आफ्नो घरमा काम गर्ने घरेलु कामदारलाई स्पोन्सर पनि गर्न सक्नेछन् । यसरी घरेलु कामदार स्पोन्सर गर्न कुनै अधिकतम संख्या तोकिएको छैन । उनीहरूले आफ्ना श्रीमान वा श्रीमती, कुनै पनि उमेरका सन्तान र परिवारका अन्य सदस्यलाई पनि भिसा स्पोन्सर गर्न सक्नेछन् ।
गोल्डन भिसा लिएका व्यक्तिको मृत्यु भएको अवस्थामा उनको स्पोन्सरमा युएई आएर बसिरहेका परिवारका सदस्यले भिसा अवधि समाप्त नभएसम्म युएईमै बसिरहन पाउने छन् ।
युएईले गोल्डन भिसा लिन पाउने व्यक्तिहरूको सूची पनि बढाएको छ । अब विज्ञान, इञ्जिनियरिङ, मेडिसिन, सूचना प्रविधि, व्यवसाय, प्रशासन र शिक्षा क्षेत्रका दक्ष पेसाकर्मीले १० वर्षको गोल्डन भिसा लिन पाउने दुबईबाट प्रकाशित हुने ‘खलिज टाइम्स’ ले जनाएको छ ।
यो भिसा लिन आवश्यक पर्ने मासिक तलब सीमा पनि घटाइएको छ । पहिले महिनाको करिब १८ लाख रूपैयाँ कमाउने व्यक्तिहरूलाई मात्र यो भिसा दिने गरिएकोमा अब साढे १० लाख कमाउनेहरूले पनि गोल्डन भिसा पाउने छन् ।
पर्यटक र अन्य व्यक्तिहरूका लागि पनि लचिलो नीति लागू गरिएको छ :
पर्यटक भिसामा आउनेहरूलाई ६० दिनसम्म युएईमा बस्ने छुट दिइएको छ । पहिले पर्यटक भिसाको बसाइ अवधि ३० दिन मात्र थियो ।
पाँच वर्षको मल्टि–इन्ट्री (पटकपटक गइरहन सकिने) भिसा पनि सुरू गरिएको छ । उनीहरूले एकचोटिमा लगातार ९० दिनसम्म युएईमा बस्न पाउने छन् ।
अत्यन्त प्रतिभाशाली पेसाकर्मीहरूलाई युएईमा जागिर खोज्न सजिलो होस् भनेर छुट्टै भिसा नीति लागू गरिएको छ । त्यस्ता व्यक्तिलाई भिसाको निम्ति कुनै युएई नागरिक वा अरू कसैको स्पोन्सरसिपको आवश्यकता पर्दैन ।
युएईको मानव संशाधन मन्त्रालयले पहिलो, दोस्रो वा तेस्रो श्रेणीमा वर्गीकरण गरेका पेसाकर्मी र संसारका ५०० उत्कृष्ट विश्वविद्यालयबाट स्नातक गरेका विद्यार्थीले युएईमा जागिर खोज्न यो भिसाको निम्ति आवेदन दिन सक्नेछन् । साभार सेतोपटी