देउखुरी २ मंसिर । राप्ती गाउँपालिका दाङका विभिन्न भैलाे समूह र युवा क्लबले देउसी भैलाे खेलेर जुटाएको रकम ब्रेन टयूमर, मृगौला र क्यान्सर पीडित बिरामीलाई हस्तान्तरण गरेका छन् ।
पालिकाकाे वडा नम्बर ६ र ७ का स्थानीयहरु आवद्ध रहेको सिस्ने सांस्कृतिक संरक्षण देउसी भैलाे समूह र वडा नम्बर २ का युवाहरु आवद्ध न्यु डान्स क्रियसन क्लबले देउसी भैलो खेलेर जुटाएको रकम उनीहरूलाई हस्तान्तरण गरेका हुन् ।
सिस्ने सांस्कृतिक संरक्षण देउसी भैलाे समूहले वडा नम्बर ६ का क्यान्सर पीडित बिमला पाेख्रेल, गाेमा देवि थापा र वडा नम्बर ७ का हुकुम बहादुर सन्यासी र दुर्गा सुवेदी गरि ४ जनालाई जनही १०/१० हजार रुपैयाँ नगद हस्तान्तरण गरेको समूहका अध्यक्ष बिर्ख बहादुर महराले जानकारी दिनुभयो ।
त्यस्तै न्यु डान्स क्रियसन क्लबले वडा नम्बर २ का ब्रेन ट्यूमर जाल्पा परियार र वडा नम्बर ४ का मिर्गौला पीडित सन्तोष मल्ल लाई जनही ५/५ हजार रुपैयाँ नगद प्रदान गरेको क्लबका सल्लाहकार आशिष न्याैपानेले जानकारी दिनु भयो ।
देउसी भैलाे खेलेर संकलन गरेको रकम मध्ये बिरामीहरुकाे उपचारमा थाेरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको उनीहरूले बताएका छन् ।
ती समूहहरुले विगतका वर्षहरूमा पनि देउसी भैलाे खेलेर संकलन गरेको केही रकम सामाजिक कार्यमा खर्च गर्दै आएका छन् ।