Dangali Onlinekhabar

Advertisment

SKIP THIS

घण्टदेव सामुदायिक वन मसुरीयामा आज देखि महायज्ञ सुरु

भालुवाङ २७ मंसिर । लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीयामा आज देखि महायज्ञ सुरु भएको छ ।

हिन्दु धर्मको संरक्षण सम्बर्द्धन गरि धार्मिक साँस्कृतिक तिर्थस्थलको रुपमा विकास गर्न तथा घण्टदेव धाम धार्मिक पर्यटकीय जलाधार संरक्षण स्थलको प्रारम्भिक पूर्वाधार निमार्ण तथा अक्षयकोष स्थापनार्थ घण्टदेव सामुदायिक वन मुल आयोजक समितिको आयोजनामा सामुदायिक वन कार्यालय परिसर मसुरीयामा श्रीमद्भागवत महापुराण सप्ताह धनधन्याचल ज्ञानमहायज्ञ सुरु भएको हो ।

मुल आयोजक समितिका संयोजक टेकबहादुर गिरीको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीको प्रमुख आतिथ्यता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट तथा नेपालकै ख्याती प्राप्त प्रखर वाचक व्यासाचार्य श्री भक्तराज जोशी भगवतशरणको विशिष्ट आतिथ्यतामा महायज्ञको उद्घाटन गरिएको छ । महायज्ञको उद्घाटन गर्दै सभामुख घर्तीले मानव जातीमा सकरात्मक सोचाईको विकास गर्न महायज्ञले महत्वपुर्ण भुमिका खेल्ने बताएका छन् । पछिल्लो समय मानवहरु अराजक तथा नकरात्मक गतिविधि तर्फ लागेको बताउँदै त्यस्ता क्रियाकलाप रोक्न यस्ता धार्मिक क्रियाकलापले पनि भुमिका खेल्ने हुँदा सम्पुर्ण वडा तथा राप्ती बासीहरुलाई महायज्ञमा सहभागी गराउन आयोजकले ध्यान दिन सक्नुपर्ने बताएका छन् ।

त्यस्तै सभामुख घर्तीले सामुदायिक वनले राखेको उद्देश्यमा प्रदेश सरकारले पनि सहयोग गर्ने बताएका छन् । आफु कानुन निमार्णको प्रमुख भएको नाताले पनि संसदमा र विकास गर्ने थलोमा रहेका मुख्यमन्त्री सँग समन्वय गर्ने बताएका छन् ।

त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले समुदायमा रहेका विभिन्न धर्मालम्बीहरुलाई मिलाएर राख्ने दायित्य स्थानीय सरकारको रहेकोले पालिको सकरात्मक विकासका लागि स्थानीय सरकार सहयोग गर्न सधैं तत्पर रहेको बताएका छन् । त्यस्तै उनले आयोजकले महान उद्देश्य राखेर आयोजना गरेको महायज्ञ प्रति आफु खुसी रहेको बताउँदै सम्पुर्ण मानव जातीलाई औकात हेरेर दान गर्न सझाव दिएका छन् । सो अवसरमा राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी, वन महासंघ दाङका अध्यक्ष हरि भुसाल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यसै बीच श्रीमद्भागवत महापुराण सप्ताह धनधन्याचल ज्ञान महायज्ञलाई पाल्पा निवासी बरिष्ठ वनकर्मी तथा समाजिक व्यक्तित्व भवानी गौतमले पहिलो नगद दान प्रदान गरेकी छिन् । गौतमले महायज्ञलाई पहिलो दान स्वरूप नगद २ हजार ५ रूपैयाँ प्रदान गरेकी छिन् ।

गौतम सामुदायिक वन उपभोक्ता महासंघ पाल्पा तानसेन नगर समिती अध्यक्ष तथा समाजिक व्यक्तित्व एवम् बरिष्ठ वनकर्मीका रूपमा कार्यरत छिन् । उनी पाल्पाको तानसेन नगरपालिका वार्ड नम्बर ९, मदनपोखरा निवासी हुन् । पहिलो दानदाता भवानी गौतमलाई कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले दोसल्ला र सम्मान–पत्र सहित सम्मान गरेका थिए । महेश कुमार अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार भानु जोशीले गरेका थिए ।

महायज्ञ अवधीभर नेपालकै ख्याती प्राप्त प्रखर वाचक व्यासाचार्य श्री भक्तराज जोशी भगवतशरण ज्यूको श्रीमुखारबिन्दवाट सु–मधुर शैलीमा कथा वाचन हुने आयोजकले जानकारी दिएको छ । महायज्ञको आज पहिलो कलश यात्रा तथा महायज्ञ उद्घाटन गरिएकोे छ । त्यसै गरि मण्डप पुजा मंसिर २७ देखि पुस ४ गते सम्म दैनिक विहान ६ बजे देखि ८ बजे सम्म, दैनिक भागवत पाठ परायण, भजनकिर्तन साथै देवलिला झाँकी विहान ८ बजे देखि १० बजे सम्म, दैनिक प्रवचन विहान ११ बजे देखि ४ बजे सम्म र बेलुका ७ बजे देखि राति १० बजे सम्म, लाखबत्ती जागाराम, पुस ४ गते र महायज्ञ समापन पुस ४ गते गरिने आयोजकले बताएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation