काठमाडौं । जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कार मुद्दामा दोषी रहेको फैसला सुनाएको छ ।
एक सातादेखि चलिरहेको अन्तिम सुनुवाइपछि जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई दोषी ठहर गरेको हो ।
उनलाई कति सजाय गर्ने भन्ने तय गर्न पुष २५ गते पेशी तोकिएको छ ।
२०७९ भदौ ६ गते राति लामिछानेले जबर्जस्ती करणी गरेको भन्दै नाबालिकाले गौशाला प्रहरी वृत्तमा भदौ २१ मा किटानी जाहेरी दिएकी थिइन । जाहेरी पर्दा लामिछाने क्रिकेट खेल्न अफ्रिकी मुलुक गएका थिए । जाहेरी परेको सार्वजनिक भएपछि उनी नेपाली टोलीसँग नफर्की अमेरिका भागेका थिए ।
इन्टरपोल मार्फत पक्राउ पर्ने सूचना पाएपछि उनी असोज २० गते नेपाल फर्किएका थिए । उनी विरुद्ध कात्तिक १४ गते जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।
जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत, पाटनले उनलाई छोडिदिएको थियो । उच्चको आदेशलाई सर्वोच्चले समेत सदर गरिदिएपछि लामिछाने थुना बाहिरै बसेर मुद्दा लडिरहेका थिए ।
सर्वोच्च अदालतले यो मुद्दा चाँडो छिन्न आदेश दिएको थियो । तर मुद्दा टुंगिन एक वर्षभन्दा बढी समय लाग्यो। यो मुद्दामा ३७औं पेशीमा फैसला आएको हो ।