![](https://dangalionlinekhabar.com/wp-content/uploads/2024/03/20240304_104524.jpg)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेससँगको सत्ता गठबन्धन तोडेका छन । दाहालले अब नेकपा (एमाले)को समर्थनमा प्रधानमन्त्री पदलाई निरन्तरता दिनेछन ।
नेपाली कांग्रेसका नेताहरूले वि.सं. २०८४ को आम निर्वाचनमा माओवादीलाई काँध नथाप्ने र माओवादी नेतृत्वमा सञ्चालित जनयुद्धको अस्तित्वलाई नै अस्वीकार गर्ने खालका अभिव्यक्ति र निर्णय गरेपछि दाहाल असन्तुष्ट बनेका थिए । लगत्तै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले दाहालललाई कांग्रेससँगको गठबन्धन तोडेर नयाँ गठबन्धन निम्ति प्रस्ताव गरेका थिए ।
एमालेको प्रस्तावअनुसार नै नयाँ गठबन्धन बनाउन एक साता अघिदेखि भित्री गृहकार्य भइरहेको थियो । सो गृहकार्यलाई अन्तिम रूप दिन आइतबार रातभरजसो एमाले, माओवादी, जसपा र रास्वपा नेताहरू बालुवाटारमा जुटेका थिए ।
अन्ततः सो बैठकले सत्ता समीकरण बदल्ने र गत वर्ष पुस १० गते बनेकै समीकरणलाई नै निरन्तरता दिने सहमति गरेको हो । प्रधानमन्त्री दाहाल गत पुसमा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । तर कांग्रेसले पनि विपक्षमा मत नदिएकाले उनले पछि एमालेसँगको गठबन्धन तोडेर कांग्रेसको समर्थनमा आफूलाई प्रधानमन्त्रीमा निरन्तरता दिएका थिए ।
सरकारमा को को ?
सम्भवतः आजै गठन हुने सानो आकारको मन्त्रीपरिषद् गठन हुनेछ । आउँदो सरकारमा हाल सत्तासीन माओवादीसहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सहभागी हुने पक्काजस्तै छ ।
सरकारमा सहभागी हुन एमालेले नयाँ सत्ता समीकरण आजै अघि बढाउने निर्णय गरिसकेको छ। एमालेले पूर्व स्वास्थ्यमन्त्री पदम गिरिलाई सरकारमा पठाउने भएको छ। रास्वपाले पनि सरकारमा सहभागी हुने निर्णय लिने अधिकार रवि लामिछानेलाई दिएको छ ।
सबै मन्त्रीको जागिर जाँदै
नयाँ सत्ता गठबन्धन बनेसँगै मौजुदा मन्त्रीपरिषद्का सबै मन्त्रीहरूको जागिर गएको छ । नयाँ गठबन्धनका नेताहरूबीच हालका सबै मन्त्रीलाई हटाएर नयाँ मन्त्रीपरिषद् गठन गर्ने निर्णय भएको थियो ।
आज गठन हुने सानो आकारको मन्त्रीपरिषद्मा एमाले, माओवादी, रास्वपा र जसपाले एक/एक मन्त्री पठाउने भएका छन । राप्रपाले भने मन्त्री भागबण्डामा आफूहरूको भाग निश्चित गर्न मोलमोलाइ गरिरहेको बालुवाटार स्रोतले बताएको छ ।