
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार मुलुकको प्रधानमन्त्री नियुक्त हुँदैछन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आज मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त गर्न लागेका हुन ।
संविधानको धारा ७६ (२) नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको समर्थन लिएर शुक्रबार साँझ ओलीले नयाँ सरकार गठनको दाबी पेस गरेका थिए ।
राष्ट्रपतिले आज साँझ ५ बजेसम्मका लागि समयसीमा दिएर सरकार गठनको आह्वान गरेका छन् । आज ओलीलाई प्रधानमन्त्री नियुक्त गरेर सोमबार बिहान ११ बजे आसपासको समयमा शपथ ग्रहण कार्यक्रम राख्ने तयारी राष्ट्रपति कार्यालयको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेका ओलीले माओवादीसँगको गठबन्धन तोडेर कांग्रेससँग सहकार्य गरेका हुन् । गत असार १७ गते मध्यराति कांग्रेससँग गरेको समझदारी अनुसार आलोपालो सरकार चलाउने समझदारी भएको छ। जसअनुसार सुरुको कार्यकाल ओली प्रधानमन्त्री बन्ने र त्यसपछि देउवा प्रधानमन्त्री बन्नेगरी सहमति भएको नेताहरू बताउँछन् ।
ओली प्रमुख राजनीतिक दल नेपाली कांग्रेससहितको समर्थनमा चौथो पटक मुलुकको प्रधानमन्त्री बन्न लागेका हुन् । उनी यसअघि ओली पहिलोपटक २०७२ साल असोज २५ गते प्रधानमन्त्री बनेका थिए । त्यसपछि ओली २०७४ फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्री बनेका थिए। त्यसपछि उनी २०७८ सालमा तेस्रो पटक मुलुकको प्रधानमन्त्री बनेका थिए ।