नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल रौतहट १ बाट चुनाव लड्ने पक्का भएको छ । यसअघि काठमाडौं २ बाट चुनाव जितेका नेपाल रौतहट जाने भएका हुन् । दुई ठाउँबाट चुनाव लड्न मिल्ने समयमा उनी रौतहटबाट पनि चुनाव जित्दै आएका थिए ।
शुक्रवार गठबन्धनमा भएको सहमतिअनुसार रौतहट नेकपा एसको भागमा परेको छ । काठमाडौं २ नेकपा माओवादीको भागमा परेको छ । २०६४ सालको संविधान सभा निर्वाचनमा काठमाडौं २ मा माओवादीले जितेको थियो ।
नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम १ पनि नेकपा एसको भागमा परेको छ । गठबन्धनले प्रतिनिधि सभाको सिट बाँडफाँटमा मोटामोटी सहमति गरेको छ । शनिवार हस्ताक्षर गरिने गठबन्धनका एक नेताले लोकान्तरलाई जानकारी दिए ।