फाल्गुन २४ । प्रतिरोध जन अधिकार आन्दोलनका संयोजक प्रमोद धितालका बाबु योधनकृष्ण उपाध्यायको देहावसानको बार्हौं दिनको अवसरमा शोक तथा स्मरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा शोक मन्तब्य राख्दै साहित्य, कला तथा संस्कृति विभागका केन्द्रीय सदस्य रामप्रसाद जैसीले गरुड पुराणले सजायहरुको डर दिमागमा हालिदिएकोले त्यसलाई छोड्नु परेको बताउनुभयो । भौतिकवादी समाज चितवनका अध्यक्ष ओमनाथ पान्डेले भन्नुभयो-“मृत्यु जीवनको सत्य हो, अगाडि र पछाडिको कुरा मात्र हो । आज ढोंगी र रुढीबादी कुरा पछ्याउदा सही हुने तर छोड्दा अधर्मी हुने अवस्था छ ! जेजति गर्ने हो जिवित हुँदै गर्ने हो ।”
भूमी आयोग दाङका अध्यक्ष लेखराज रेग्मीले हिन्दु धर्मभित्र सोर्ह संस्कारमध्य आज कैयन संस्कारहरु छुटेका तर केही संस्कारहरु सबैका लागि अनिवार्य रहेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो-“जन्मे नाम राख्नुपर्यो, विवाह गर्नुपर्यो, मृत्युु भएमा अन्त्यस्टी गर्नैपर्यो, तरिका आआफ्ना हुन्छन् !” मृत्युको बेला जम्मा हुने र सहयोग गर्ने परंपरा ठिक रहेको बताउनुभयो । त्यसैगरी नेसंविका शिक्षाध्यक्ष डा.भिम खतिवडाले आगोको झिल्का सानो भएजस्तै विद्रोहका झिल्काहरु पनि सुरुमा साना हुने र पछि ठूलो रुप लिने बताउनुभयो ।
नेकपा(मशाल)का केन्द्रीय सदस्य शशिधर भण्डारीले समाज र संस्कृति एक दिनमा परिवर्तन नहुने तर प्रयत्नहरु निरन्तर भइरहेको बताउनुभयो ।युरोपमा पुनर्जागरण न आएको कारणले नेपाली समाज पछि परेको बताउनुभयो । उहाँले अगाडि थप्नुभयो- “मैले मृत्यु संस्कार विरुद्ध विद्रोह गर्दा पनि ब्लेड र काम्लो बोकेर वामपन्थीहरु नै आएका थिए ।”
त्यसैगरी माओवादी केन्द्रका केन्द्रीय सदस्य किसन शर्माले साँस्कृतिक रुपान्तरणका लागि मुख्य कुरा इच्छाशक्ति भएको बताउनुभयो । साथै उहाँले संस्कारहरुको बारेमा यस्ता अवसरहरुमा मात्र होइन, अरु बेलामा पनि छलफल चलाइराख्नुपर्ने र वैकल्पिक संस्कृतिको वारेमा काम गर्नुपर्ने बताउनुभयो ।
मृतक योधनकृष्ण उपाध्यायका छोरा तथा प्रतिरोधका संयोजक प्रमोद धितालले परम्परागत मृत्यु संस्कार आर्थिक रुपले बोझिलो, सांस्कृतिक हिसावले अवैज्ञानिक तथा मानसिक हिसाबले उत्पीडनकारी र भाग्यवादी भएकाले यसलाई वहिष्कार गरेको बताउनुभयो । साथै उहाँले अरुले जस्तै आफूले पनि भाग्यवादको पोखरीमा ढुङ्गा प्रहार गरेको कुरा व्यक्त गर्दै गरुड पुरान भाग्यवाद र बिभेदकारी चिन्तनको स्रोत भएको पनि बताउनुभयो । प्रमोद धितालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण रीता सुवेदीले सहजीकरण गर्नुभएको थियो ।