देउखुरी ४ चैत । दाङ देउखुरीकाे राप्ती गाउँपालिका वडा नं. ७ मा जग्गाको नाप नक्सा कार्य शुरु भएको छ ।
गाउँपालिकाभित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई व्यवस्थित गरी लालपूर्जा वितरण गर्ने उद्देश्यले गाउँपालिकाले नाप नक्साको काम शुरु गरेको हो ।
आइतबार राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले वडा नं. ७ को बड्का सिसहनियाँमा जिपिएस प्वाइन्ट राखिएको ठाउँबाट जग्गा नाप नक्सा गर्ने टोटल स्टेसन मेसिन सञ्चालन गरी नाप नक्सा कार्यको शुरुवात गर्नु भएको हो ।
राप्ती गाउँपालिका वडा नं. ७ का अध्यक्ष सिताराम चौधरीको अध्यक्षतामा भएको नाप नक्सा कार्यको उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जग्गा नाप नक्सा कार्यपछि वर्षाैंदेखिको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुको जग्गा सम्बन्धी समस्या समाधान हुने बताउनुभयो ।
त्यस्तै अध्यक्ष विष्टले गाउँपालिकाकाे अधिकांश वडाहरुमा जग्गा नाप नक्साकाे काम सम्पन्न भई सकेको बताउदै तत्काल लालपूर्जा वितरण गर्न भूमि आयोगसँग निरन्तर समन्वय गरिरहेको बताउनुभयो ।
गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीले जग्गाको नाप नक्सा गर्ने कार्यमा सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले जग्गा नाप नक्सा गर्ने क्रममा कुनै विवाद भए वडास्तरमा गठित विवाद समाधान समिति मार्फत सुल्झाउन समेत आग्रह गर्नुभयो ।
हाल पालिकाको वडा नं. १, ३, ४, ८ र ९ मा जग्गाको नाप नक्सा गर्ने काम सम्पन्न भइसकेको छ भने वडा नं. २, ५ र ६ मा नाप नक्सा गर्ने काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका भूमि सेवा शाखाका शाखा प्रमुख बालचन्द्र गुरूङले जानकारी दिनुभयो ।
गाउँपालिकाभर ४ हजार ५ सय ६४ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुकाे लागत प्रविष्टि भएको छ भने निस्सा छुट भएका व्यक्तिहरुका लागि अन्तिम पटक पुनः ३५ दिने सूचना प्रकाशन गरी लगत संकलन कार्य भई रहेको छ ।