देउखुरी २० चैत । लुम्बिनी प्रदेश सरकारले दोस्रो आवधिक योजनाको आधारपत्र सार्वजनिक गरेको छ । प्रदेश योजना आयोगले मंगलबार राप्ती उपत्यका देउखुरीमा पत्रकार सम्मेलन गरेर आर्थिक वर्ष २०८१/०८२ देखि २०८५/८६ सम्मको लागि तयार पारेको आवधिक योजनाको आधारपत्र सार्वजनिक गरेको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले संयुक्त रुपमा आधारपत्र सार्वजनिक गरे । दोस्रो आवधिक योजनामार्फत गरिब, विपन्न नागरिकको जीवनस्तर सुधार गर्न हरेक घरमा पुग्ने कोसिस गरिएको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए ।
उनले लामो गृहकार्य र मेहनतका साथ तयार भइरहेको आवधिक योजनाको पूर्ण कार्यान्वयन जरुरी रहेकोमा जोड दिए । ‘प्रदेशलाई समृद्ध बनाउन यो योजनाले मार्गदर्शन दिनेछ । एउटा बाटो देखाउने छ,’ उनले भने, ‘गरिबी न्यूनीकरण सँगसँगै प्रदेशलाई समृद्ध बनाउन भूमिका खेल्छ भन्ने लागेको छ ।’
संघीयतामा राजनीतिले स्थायीत्व पाउन नसक्दा बनेका योजना कार्यान्वयनमा जटिलता थपिएको भनाइ उनको छ । लुम्बिनी प्रदेशको समृद्धिका लागि दोस्रो आवधिक योजना तर्जुमा गर्न आधारपत्रले मार्गदर्शन गर्ने प्रदेश योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसीले बताए ।
‘हामीले आवधिक योजनालाई अन्तिम रुप दिन निरन्तर काम गरिरहेका छौँ,’ उनले भने, ‘आधारपत्रमा नतिजाका खाका र विषयत मन्त्रालय तथा सम्बन्धित कार्यालयहरुबाट तयार गरिएको रणनैतिक कार्यक्रमलाई समावेशगरी दोस्रो आवधिक योजनालाई अन्तिम रुप दिनेछौँ ।’
आधारपत्रमा ११ वटा परिच्छेदहरु, ६१ वटा खण्ड र १६ वटा उपखण्डहरु सहित २४९ पेजको दस्तावेज तयार गरिएको छ । मुख्यगरी पहिलो आवधिक योजनाको समीक्षा, समष्टिगत आर्थिक खाका, सार्वजनिक खर्चको स्रोत र लगानी प्रक्षेपण, दोस्रो आवधिक योजनाको क्षेत्रगत वस्तुस्थिति, विषय क्षेत्रगत सोच, लक्ष्य, उद्देश्य, रणनीति र कार्यनीति, प्रमुख कार्यक्रमहरु र परिणात्मक लक्ष्यहरुलाई समावेश गरिएको छ ।
दोस्रो आवधिक योजनामा पाँच वर्षमा हाँसिल गर्ने गरी १८ वटा परिमाणत्मक लक्ष्य निर्धारण गरिएको छ । आवधिक योजनालाई नतीजामूखी बनाउन २४८ वटा रणनीति, एक हजार एक सय ४५ वटा कार्यनीतिहरु तय गरिएको छ ।
मुख्यगरी कुल ग्राहस्थ उत्पादन वृद्धिदर ७ दशमलव २ प्रतिशत, निरपेक्ष गरिबी १८ दशमलव २० प्रतिशत, प्रतिव्यक्ति आय एक हजार पाँच सय १२ अमेरिकी डलर, मानव विकास सूचकांक शून्य दशमलव ६१० र बाल मृत्युदर २२ प्रतिहजार पुर्याउने महत्वकांक्षी लक्ष्य निर्धारण गरिएको छ ।
लुम्बिनी प्रदेश योजना आयोग राप्ती उपत्यका (देउखुरी) दाङको दोस्रो आवधिक योजना (आर्थिक वर्ष २०८१/८२-२०८५/८६) को आधारपत्रको पुर्ण पाठ