देउखुरी २५ चैत । राप्ती गाउँपालिका १ मा अवस्थित होटल पौवाले आफ्नो ८औं वार्षिकोत्सवको अवसर पारेर चैत २५ गते स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
बुटवल स्थित केन डाइबेटिज एण्ड थाईराइड सेन्टरको प्राविधिक सहयोगमा होटल पौवा भालुवाङको प्रांगणमा विशेषगरी मधुमेह, मृगौला तथा उच्च रक्तचाप सम्बन्धी चेक जाँच तथा परामर्श गरिएको होटल पौवा भालुवाङ शाखाका म्यानेजर श्याम न्यौपानेले बताए ।
पछिल्लो समय विश्वमा नै नसर्ने रोगहरु बढ्दै गइरहेको हुनाले पौवाले विशेषगरी मधुमेह, मृगौला तथा उच्च रक्तचाप सम्बन्धी निःशुल्क चेकजाँच तथा परामर्श गरेको हो । चैत्र २५ गते आइतबार बिहान ७ बजे देखि ११ बजेसम्म चेकजाँच तथा परामर्श गरी करिब ३ सय जनालाई सेवा दिइएको म्यानेजर न्यौपानेले बताए ।
होटल पौवाको सामाजिक उत्तर दायित्व बहन हुने गरी पौवाका सबै शाखाहरुबाट विभिन्न कार्यक्रम गरी मनाइएको होटल पौवाका व्याण्ड अफिसर विष्णु भण्डारीले बताए ।
नेपाली हस्पिटालिटीलाई ब्राण्ड बनाउँदै स्थापना भएको होटल पौवाले आफ्नो १२ वटै शाखाबाट विभिन्न कार्यक्रम गरेर ८औं वार्षिकोत्सव मनाएको छ । हरेक शाखाहरुमा फरक फरक जनउत्तरदायी कार्यक्रम गर्दै पौवाले स्थापना दिवस मनाएको हो ।
सोही अवसरमा होटल पौवाको काठमाडौं शाखाले शंखमुल स्थित गुरुकुल आश्रममा आश्रितहरुलाई खाद्यान्न तथा फलफुल बितरण गरेको छ भने होटल पौवा भैरहवा र बुटवलले पौवा परिषरमै बृहत रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा होटलमा कार्यरत कर्मचारी तथा अन्य सदस्यहरुको सहभागीतामा ५५ युनिट रक्त संकलन गरिएको बुटवल शाखाका म्यानेजर निशान्त खरेलले जानकारी दिए । रक्त सञ्चार सेवा केन्द बुटवलको प्राविधिक सहयोग तथा नियमित रक्तदाता समाज रुपन्देहीसँगको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको खरेलले बताए । स्थापना दिवसको अवसरमा भैरहवा शाखाले पनि वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदाता सेवा केन्द्र भैरहवाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ५० जना बढीले रक्तदान गरेका छन ।
त्यसैगरि पौवाको तानसेन शाखाले सिर्जनसिल अपाङ्ग स्वाबलम्बन केन्द्र तानसेन पाल्पामा रहेका आश्रितहरुलाई खाना खुवाएको छ भने दाङको घोराहीशाखाले जेष्ठ नागरिक सरोकार केन्द्र तेरौटेमा रहेक जेष्ठ नागरिकहरुलाई खाना खुवाई खुसी साटासाट गरेको छ । पौवाका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीका अनुसार उता पर्यटकीय राजधानी पोखरामा साहारा अकेडेमी बाल अनाथ आश्रम टुटुङ्गा रहेका आश्रितहरुलाई खाद्यान्न तथा फलफुल बितरण गरेको छ ।