देउखुरिको मौरीघाटमा चैतन्य पाठशालाको शुभारम्भ

देउखुरी । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका अन्तरगत राप्ती गाउँपालिका वडा नं. ३ मौरीघाटमा चैतन्य पाठशाला शुरु भएको छ । यसै शैक्षिक सत्रदेखि अध्यापन हुनेगरी पाठशालाको शनिबार एक कार्यक्रम आयोजना गरी उद्घाटन गरिएको छ ।

पाठशालाका प्रबन्ध निर्देशक डा. जीवराज आचार्यको अध्यक्षता एवं दाङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा शनिवार पाठशालाको उद्घाटन गरीएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले प्रदेश राजधानी क्षेत्रमा पाठशाला स्थापना हुँदा केही हुँदैछ भन्ने सकारात्मक सन्देश प्रवाह भएको बताउनुभयो । अहिले चल्दै आएको व्यक्ति बनाउने शिक्षा प्रणालीले आफ्नो बारेमा मात्रै सोच्ने राजनीतिक मनोविज्ञान निर्माण गरेको भन्दै उहाँले देश र समाजलाई समृद्ध बनाउने शिक्षा प्रणालीको आवश्यकतामा ध्यान पुर्याउन आग्रह गर्नुभयो ।

पाठशालाकी प्राचार्य शुस्मा रेग्मी आचार्यले नयाँ सोचका साथ देउखुरी क्षेत्रमा विभिनन चुनौतीका साथ शिक्षा क्षेत्रमा केही गरौं भन्ने उत्सुकताका साथ शिक्षा क्षेत्रमा सुधारका लागि आएको बताउनु भयो । उहाँले भन्नु भयो ‘शिक्षा सबैको सरोकारको विषय हो, हामी सबै मिलेर शिक्षामा सुधार गर्नु पर्ने आजको आवश्यता रहेको छ ।’

त्यस्तै प्रवन्ध निर्देशक डा. जीवराज आचार्यले पाठशालाले शैक्षिक क्रियाकलापमा व्यवहारिक पक्षलाई सँगसँगै जोडेर लैजाने बताउनुभयो । ‘विहानदेखि साँझसम्म, नियमित कक्षादेखि अतिरिक्त कक्षासम्म, ट्युशन कक्षादेखि गृहकार्यसम्म बच्चाले १२ देखि १५ घण्टा टाउको दुखाउने अवस्था पाठशालामा हुँदैन ।’

पाठशालाका प्रिन्सिपल शुस्मा रेग्मी आचार्यको स्वागतबाट शुरु भएको कार्यक्रमको सहजीकरण पाठशालाका सहायक प्रिन्सिपल वसन्तराज शर्मा र पशुपति पौडेलले गर्नुभएको थियो । हाम्रो लुम्बिनी न्युजबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation