देउखुरी ६ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकारलाई पूर्णता दिने तयारी गरेका छन । सम्भवतः आज नै मन्त्रिपरिषद बिस्तार हुनेछ ।
सरकारमा सहभागी पाँच राजनीती दललाई सरकारमा सहभागी गराउनेगरी मुख्यमन्त्रीले दलहरूबाट मन्त्रीकाे नाम माग गरेकाे उनकाे सचिवालयले जनाएको छ ।
चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका महराले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एक/एक जना मन्त्री बनाइसकेका छन । अब बाँकीलाइ मन्त्रीमा सहभागी गराएर मन्त्रिपरिषद्लाइ पूर्णता दिने तयारी छ ।
लुम्बिनी प्रदेश सरकारमा एमालेले दलउपनेता चेतनारायण आचार्यकाे नेतृत्वमा सहभागीता जनाउने छ । आचार्य मन्त्री बनिसकेका छन्। उनकाे जिम्मेवारी ताेकिएकाे छैन ।
तर, आचार्यले अर्थमन्त्रालय सम्हाल्नेगरी जिम्मेवारी पाउने जनाइएको छ। एमालेबाट अब सरकारमा भूमिश्वर ढकाल, दिनेश पन्थी, अर्जुन कुमार केसी र रत्नबहादुर खत्रीलाइ मन्त्रीकाे रूपमा पठाउनेगरी नाम सिफारिस गरेकाे एमाले संसदीय दलकाे कार्यालयले जनाएको छ ।
ढकालले सहकारी विकास, पन्थीले गृह, केसीले वन र खत्रीले सामाजिक विकास मन्त्रीकाे जिम्मेवारी पाउने देखिएकाे छ ।
माओवादीबाट सरकारमा दिपेन्द्र पुन मन्त्री बनिसकेका छन्। माओवादीबाट थप एक जना कृष्णा केसी मन्त्री बन्नेछिन । पुनले स्वास्थ्य र केसीले सिँचाइ, ऊर्जा तथा खानेपानी मन्त्रालयकाे जिम्मेवारी पाउने जनाइएको छ ।
जसपाबाट भण्डारीलाल अहिर मन्त्री छन । उनले कृषि तथा भूमि व्यवस्था मन्त्रालयकाे जिम्मेवारी पाउने छन । नागरिक उन्मुक्ति पार्टीले भाैतिक पूर्वाधार विकास मन्त्रालय पाउने छ । साे दलभित्र कसलाई मन्त्रीकाे रूपमा पठाउने भन्ने बारेमा छलफल चलिरहेकाे छ । स्वतन्त्र सांसद खड्ग बस्नेत पनि मन्त्री बन्दैछन । उनले पर्यटन उद्योग र सहकारी मन्त्रालयकाे जिम्मेवारी पाउने जनाइएको छ ।
यसरी मन्त्रालयकाे भागबन्डा गर्दा लुम्बिनीमा मुख्यमन्त्रीसहित दश मन्त्रालय छन्।दुईवटा मन्त्रालय थप्नुपर्ने देखिन्छ । मुख्यमन्त्रीमा नियुक्त हुनुअघि दलहरूकाे बीचमा जसपालाई दुई, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई पनि सरकारमा सहभागी गराउने लिखित सहमति भएको थियाे ।
तर, याे सहमतिअनुसार तत्काल नेकपा एकिकृत समाजवादी सरकारमा सहभागी नहुने देखिएकाे छ ।
‘सरकारमा सहभागी हुनेबारे हामीसँग छलफल गरिएको छैन, ‘नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश कार्यालयका सचिव सुदन खनालले भने, ‘मुख्यमन्त्रीले छलफल गर्नु भएन । अहिले नै सरकारमा सहभागी हुने अवस्था रहेन ।’