मसुरीया ३२ जेठ । दाङको राप्ती गाउँपालिका द्वारा पालिकाकाे वडा नम्बर ५ र ९ का विभिन्न स्थानमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
गत मंगलबारदेखि बिहीबार सम्म सञ्चालित शिविरमा २ हजार ५ सय ५ वटा बाख्रा, ३ सय ८० वटा गाई, ३८ वटा भैसी, १० वटा कुकुर, १९ वटा बङ्गुर र १ हजार ७ सय ५९ वटा कुखुराहरुलाई उपचार एवम् आन्तरिक तथा बाह्य परजीवी विरुद्धको औंषधि वितरण गरिनुका साथै २७ वटा कुकुरमा रेबिज खोप, ४२ वटा बोका तथा ७ वटा बहरको बन्ध्याकरण गरिएको पशु प्राविधिक कमल पुन मगरले जानकारी दिनुभयो ।
शिविरमा पशुहरुमा देखिने विभिन्न किसिमका आन्तरिक तथा बाह्य रोगहरु नियन्त्रण र रोकथाम सम्बन्धी खोप, औषधी वितरण, भाले पशुहरुको बन्ध्याकरण गरिनुका साथै ब्यवस्थित पशुपालन सम्बन्धि परामर्श समेत दिईएको पशु सेवा विकास शाखा प्रमुख दामोदर आचार्यले जानकारी दिनुभयो ।
शिविर वडा नम्बर ५ को भुल्के र वडा नम्बर ९ को रुपाकोट, जाबुने र तल्लो घाेसखाेला गरि ४ स्थानमा सञ्चालन गरिएको थियो ।
गाउँपालिकाले पशुसेवा केन्द्रहरूबाट टाढा रहेका पहाडी बस्ती तथा पशुपालनको बाहुल्यता भएको क्षेत्रलाई लक्षित गरि सो शिविर संचालन गरेको हो ।
गाउँमै शिविर सञ्चालन भए पछि पशुपालक किसानहरू खुशी समेत भएका छन ।