सौर्य एयरलाइन्स दुर्घटनामा १८ जनाको मृत्यु

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको जहाजमा परी १८ जनाको मृत्यु भएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले दिएको जानकारीअनुसार १८ जनाको शव संकलन गरिएको छ भने एक जनाको जीवित उद्धार गरिएको छ ।

क्यानका प्रवक्ता हंसराज पाण्डेका अनुसार जहाजमा १९ जना यात्रु थिए ।

“सौर्य एयरलाइन्सको CRJ7 9NAME जहाज काठमाडौंबाट स्थानीय समयअनुसार बिहान ११:११ मा पोखरा उडानको क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गइ रन वेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको, तत्कालै उद्धार कार्य सुरु गरी आगो नियन्त्रणमा लिई १८ जनाको शव संकलन गरिएको तथा एक जना घाइतेलाई उद्धार गरी अस्पताल पुऱ्याएको जानकारी गराइन्छ,” प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पाण्डेले १८ जनाको शव फेला परेको बताए । प्रहरीका अनुसार दुर्घटनामा परेको जहाजबाट संकलन गरिएको शव त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिँदैछ । जहाज उड्न लागेका बेला सन्तुलन बिग्रिएर दुर्घटनामा परेको बताइएको छ ।

सौर्य एयरका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार जहाजमा चालक दलका सदस्य र प्राविधिक रहेका थिए । प्राविधिक चेकजाँचका लागि जहाज पोखरा लैजान लागिएको थियो । उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीका अनुसार जहाजका क्याप्टेन मनिष शाक्यलाई उद्धार गरेर अस्पताल पठाइएको छ ।

उनका अनुसार उपचारका लागि शाक्यलाई केएमसी अस्पताल पठाइएको हो । जीवितै उद्धार गरिएका शाक्य बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । जहाज सी चेकका लागि पोखरा लैजान लागिएको थियो । जहाज ग्राउन्ड छाडिसकेपछि नियन्त्रणबाहिर गएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation