
१५ दिन अघि चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालमा आएको भेलबाढीले त्रिशूलीमा खसेको बसको खोजीकार्य जारी छ ।
शनिबार मध्याह्नदेखि खोजी कार्य पुनः थालिएको छ । यसपटक भारतबाट ल्याइएको ४० किलोको चुम्बक पानीमा खसालेर बेपत्ता बसको खोजी सुरू भएको छ ।
प्रमुख जिल्ला अधिकारी यादवकाअनुसार संभावित स्थानमा बस रहे नरहेको पत्ता लगाउन भारतीय टोलीले ‘म्याग्नेटिक डिभाइस’ (ठूलो चुम्बक) ल्याएको थियो ।
‘चुम्बक लगेर नदीका संभावित स्थान खसालिनेछ। बस रहेछ भने त चुम्बक टाँसिइहाल्छ,’ चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘चुम्बकमार्फत फलाम रहेको थाहा भएमा गोताखोरलाई पानीभित्र पठाइनेछ ।’
उनका अनुसार आजको खोजी अन्तिम प्रयाससमेत हो ।
‘आज दिनभरको प्रयासपछिमात्रै भोलिदेखि खोज्ने कि नखोज्ने भन्ने निर्णय गर्नेछौं,’ यादवले भने, ‘भारतबाट आएको टोलीलेसकेको प्रयास गरिरहेको छ । उहाँहरु आएको पनि एक हप्ता भइसक्यो । अन्तिम प्रयास पनि सफल भएन भने आगामी दिनमा के गर्ने भन्ने निर्णय गर्नुपर्छ ।’
यसअघि सोनार क्यामेरा, चुम्बक र अन्य उपकरण प्रयोग गरी बसको खोजी भएको थियो तर अहिलेसम्म भेटिएको छैन ।
असार २८ गते बिहान साढे ३ बजेतिर भरतपुर-२९ स्थित नारायणघाट मुग्लिन सडकको सिमलतालबाट वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स त्रिशूली नदीमा खसेका थिए ।
गणपतिमा ३८ जना र एन्सल्समा २७ जना यात्रु रहेको अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी भावेष रिमालका अनुसार अहिलेसम्म १९ जना यात्रुको शव भेटिएको छ। सनाखत भएका शवमध्ये ५ जना भारतीयका हुन् ।