राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा सिन्दूर, टिका र राष्ट्रियता झल्कने पोसाक लगाउन पाइने

काठमाडौं । राष्ट्रिय परिचयपत्रमा सर्वसाधारणले आफ्नो सांस्कृति र जातीय पहिचान जनाउने पहिरन लगाएको फोटो राख्न पाउने भएका छन ।

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सूचना जारी गर्दै फोटो खिच्दा सिन्दुर, टीका, राष्ट्रियता झल्किने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउँदा बाधा नपर्ने जनाएको हो ।

राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक कागजातको सम्बन्धमा रहेका द्विविधा हटाई सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन भन्दै विभागले सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, राष्ट्रिय परिचयपत्र इकाइ रहेका सबै र राष्ट्रिय परिचयपत्र इकाइलाई पत्र काट्दै ४ बुँदे निर्देशनसमेत जारी गरेको हो ।

यस्ता छन निर्देशन :

१. राष्ट्रिय परिचयपत्रमा विवरण दर्ताका लागि सेवाग्राहीको फोटो खिच्दा स्पष्ट मुखाकृति र दुबै कान देखिने गरी फोटो खिच्नुपर्नेछ । फोटो खिच्दा सिन्दूर, टिका, राष्ट्रियता झल्कने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा पर्ने छैन ।

२. राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता गर्दा व्यक्तिले पेस गरेको नागरिकताको प्रमाणपत्र बाहेकको अन्य कागजातहरू राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा स्क्यान गरी प्रविष्ट गर्ने प्रयोजनको लागि सम्भव भएसम्म सकल वा छायाप्रतिमा सम्बन्धित व्यक्तिले सकल बमोजिम नकल ठिक छ भनी प्रमाणित गरेको आधारमा दर्ता प्रक्रिया अगाडी बढाउने ।

३. व्यक्तिको नागरिकतामा केही विवरणहरू स्पष्ट नभएको खण्डमा सीआइएमएस नागरिकताको अभिलेखबाट समेत रुजु गरी विवरण दर्ता को व्यवस्था मिलाउने ।

४. त्यहाँ कार्यालयमा अन्य जिल्लाका नागरिकहरूले समेत राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न आवेदन पेस गरेमा विवरण दर्ताको व्यवस्था मिलाउने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation