देउखुरी ११ भदौ । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले युवाहरु खेलकुद र विकासमा जुट्नु पर्ने र लागूऔषध दुर्व्यसनबाट बच्नु पर्नुे बताउनुभएको छ ।
गाउँपालिकाकाे वडा नं. १ शान्तिपुरमा मंगलबार शान्तिपुर युवा क्लबले आयोजना गरेको विशेष भेटघाट कार्यक्रममा अध्यक्ष विष्टले गाउँका युवाहरुलाई खेलकुद र विकास निर्माणमा सक्रिय सहभागी हुन आग्रह गर्नु भएको हाे ।
उहाँले खेलकुदले युवाको शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने मात्र नभई, उनीहरुलाई अनुशासित र जिम्मेवार नागरिक बन्न समेत मद्दत गर्ने बताउनुभयाे ।
“गाउँको समृद्धि र प्रगति युवाहरुको सक्रिय सहभागितामा निर्भर हुन्छ।खेलकुदमार्फत अनुशासन र परिश्रम सिकिन्छ, जुन गुण विकास निर्माणका कार्यमा पनि अत्यावश्यक हुन्छ। हामीले युवाहरुको शक्ति र क्षमतालाई सही दिशा दिन आवश्यक छ ।”,- अध्यक्ष विष्टले भन्नुभयाे ।
विशेषत: फुटबल खेलमैदानको आवश्यकता औंल्याउँदै खेलकुदको प्रवर्द्धनमा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे।याे अवसरमा अध्यक्ष विष्टले युवाहरुलाई लागूऔषध दुर्व्यसनबाट टाढा रहन पनि आग्रह गर्नुभयाे ।
लागूऔषध दुर्व्यसनले युवाको भविष्य अन्धकारमय बन्ने र समाजमा नकारात्मक असर पुग्ने भएकाले युवाहरु स्वस्थ र सकारात्मक गतिविधिमा संलग्न हुनु पर्ने अध्यक्ष विष्टको भनाइ रहेको थियो ।
त्यस्तै उहाँले लागूऔषध दुर्व्यसन नियन्त्रणमा समुदायको भूमिका महत्त्वपूर्ण भएको भन्दै सबैलाई सजग र सचेत रहन आग्रह गर्नुभयाे ।
कार्यक्रममा सहभागी युवाहरुले गाउँपालिकाले युवा लक्षित बजेट र योजना निर्माणको माग राखेका थिए । त्यस्तै उनीहरुले फुटबल खेलमैदान निर्माणलाई प्राथमिकता दिन र युवामैत्री कार्यक्रमहरु ल्याउन अध्यक्ष विष्टलाई आग्रह गरेका छन् । अध्यक्ष विष्टले युवाहरुका मागप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै आगामी योजनामा यस्ता मागलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने आश्वासन दिनुभयाे ।
क्लबका अध्यक्ष निम बहादुर केएमकाे अध्यक्षता एवं राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले प्रमुख आतिथ्यतामा भएको उक्त भेटघाट कार्यक्रममा समाजसेवी, बुद्धिजीवी लगायत युवा क्लबका सदस्यहरुकाे सहभागीता रहेको थियो । भने कार्यक्रमकाे सञ्चालन मन्दिप पाेख्रेलकाे गर्नु भएको थियो ।











